लालबन्दी – सर्लाहीको उत्तरी क्षेत्र स्थित महत्वपूर्ण व्यापारिक केन्द्र समेत रहेको लालबन्दी नगरपालिकामा संघीय सत्ताधारी गठबन्धन दल मध्ये नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच स्थानीय तह निर्वाचनमा तालमेल हुने भएको छ ।
आईतबार राती अबेर यो समाचार तयार पार्दासम्म लालबन्दीमा दुई दलका नगर स्तरीय नेताहरुबीच भएको छलफलले तालमेलको निर्णय गरेको हो । सहमति अनुसार लालबन्दी नगरपालिकाको मेयरमा माओवादी तथा उपमेयरमा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवार उठाउने भएको छ । वडाहरुको सम्बन्धमा पनि लगभग सहमति भएपनि केही वडाको भागवण्डा बाँकी रहेकाले सोमबार बिहान ६ बजे नै दुवै दलका नेताहरु बसेर सहमति गरिने नेकपा माओवादी केन्द्र लालबन्दी नगर कमिटी अध्यक्ष लेखराम जर्गा मगरले जानकारी दिए ।
लालबन्दीमा माओवादीको तर्फबाट मधेश प्रदेश अध्यक्ष प्रल्हाद बुढाथोकीलाई मेयरको रुपमा अगाडी बढाउने करिब–करिब टुंगिएको छ । एकीकृत समाजवादीको तर्फबाट भने उपमेयरको उम्मेदवार टुंग्याउन बाँकी नै रहेको छ । नेकपा एकीकृत समाजवादीका नेता ध्रुव पाठकले माओवादी र एकीकृत समाजवादीबीच लालबन्दी नगरपालिकामा तालमेल भएको जानकारी दिए । त्यस्तै समाजवादी नेतृ प्रदेश सभा सदस्य बेची लुंगेलीले सोमबार बिहान दुवै दलका नेताहरु बसेर लालबन्दीका १७ वटै वडाका वडाध्यक्षको भागवण्डा समेत सक्ने दाबी गरिन् । बैठकमा माओवादी नेता प्रल्लाद बुढाथोकी समेत सहभागि थिए ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा लालबन्दीमा नेकपा एमालेको तर्फबाट हालका मेयर मान बहादुर खड्का विजयी भएका थिए । नेकपा माओवादी केन्द्रको तर्फबाट ईन्द्र योञ्जन निकटतम प्रतिद्वन्द्वी थिए भने नेपाली कांग्रेसका कुबेर आचार्यले तेस्रो बढी मत हाँसिल गरेका हुन् । निकटतम प्रतिद्वन्द्वी माओवादीका योञ्जन कांग्रेसमा प्रवेश गरेर जिल्ला कार्यसमितिको सह–सचिबमै निर्वाचित भईसकेका छन् ।
त्यस्तै हरिवन नगरपालिकामा समेत माओवादी र एकीकृत समाजवादीबीच तालमेलका लागि निरन्तर छलफल भईरहेको नेताहरुले बताएका छन् । माओवादी जिल्ला संयोजक एवं हरिवन नगरपालिकामा मेयरका उम्मेदवार कमल बुढाथोकीले एकीकृत समाजवादीसँग घनिभूत ढंगले छलफल भईरहेको र तालमेलको सम्भावना कायमै रहेको जानकारी दिए ।