बागमती – नेकपा (एकीकृत समाजवादी) पार्टी निकट युवा संघ सर्लाहीका अध्यक्ष जय गोले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
गोलेलाई नेकपा एमालेले बागमती नगरपालिका–१२ मा वडाध्यक्षको टिकट दिँदै एमालेमा प्रवेश गराएको हो । उनलाई आइतबार बिहान एमाले मधेस प्रदेश कमिटीका उपाध्यक्ष रेवती पन्त, एमालेको तर्फबाट बागमती नगरपालिकाको मेयरका उम्मेदवार गोकुल बस्नेत, उपमेयरकी उम्मेदवार सरिता घिसिङ लगायतले एमालेमा प्रवेश गराएका हुन् ।
सर्लाहीमा नेकपा एमालेले अहिलेसम्म बागमती नगरपालिकामा मात्रै मेयर, उपमेयरको टुंगो लगाएको छ । अन्य पालिकाहरुमा मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष लगभग टुंगिसकेको र बेलुकासम्ममा आधिकारिक घोषणा गरिने प्रदेश कमिटीका उपाध्यक्ष पन्तले बताए ।
पन्तले वडाध्यक्ष र वडा सदस्यका उम्मेदवारहरुको समेत बेलुकासम्ममा जिल्ला कमिटीले टुंग्याउने जानकारी दिए ।