लालबन्दी – उम्मेदवारी दर्ताका लागि २ दिन मात्रै बाँकी हुँदा पनि सर्लाहीमा राजनीतिक दलहरुले अझै उम्मेद्वार छानिसकेका छैनन् ।
वैशाख ११ र १२ गते उम्मेदवारहरुको मनोनयन पत्र दर्ताको तालिका भएपनि दलहरुले बिहीबार साँझ अबेरसम्म नगरपालिकाका मेयर र उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार छान्न नसकेका हुन् । केही पार्टीले थोरै वडाहरुमा भने वडाध्यक्ष र वडा सदस्यका उम्मेदवार सर्वसम्मत छानेका छन् ।
अधिकांश वडामा वडाध्यक्षकै लागि दुई भन्दा बढीले दावी पेश गरेपछि उम्मेदवार छान्न सकस परिरहेको छ । वडाध्यक्ष र वडा सदस्यमा कतैकतै १५/२० जनासम्मले दावी गरेका छन् ।
जिल्लामा सत्ताधारी गठवन्धनबीच चुनावी तालमेल हुनेनहुने भन्ने अन्यौलता कायमै छ । जिल्लास्तरीय समितिले गठवन्धन गर्ने अधिकार स्थानीय संयन्त्रलाई दिएको छ । तर स्थानीय नेताहरुबीच गठवन्धनका लागि केही दिनदेखि निरन्तर छलफल भएपनि भागबण्डा मिल्न सकेको छैन् ।
विशेष गरी नगरपालिकाको मेयर र गाउँपालिकाको उपाध्यक्षमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले दावी नछाड्दा सर्लाहीमा गठवन्धनको सम्भावना निकै न्यून हुँदै गएको नेताहरुले बताएका छन् । यसबाट नेकपा एमालेलाई फाइदा पुग्ने देखिएको छ ।
चुनावी गठवन्धनका लागि दलहरु बिहीबार पनि दिनभर छलफलमै जुटे तर सकारात्मक निष्कर्ष कतै निस्किएन । नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले कांग्रेसबाट १० गतेसम्म उम्मेदवारहरु टुंगो लाग्ने उज्यालो अभियानसँग बताए ।
कांग्रेस सर्लाही क्षेत्र नं. १ को बिहीबार बयलवासमा बसेको बैठकले ईश्वरपुर, लालबन्दी र हरिपुर नगरपालिकामा मेयर तथा उपमेयर र चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षका आकांक्षीहरुको नाम माथिल्लो तहमा सिफारिस गरेको क्षेत्रीय सभापति हरिबहादुर लुंगेलीले जानकारी दिए । यस्तै, नेकपा एमालेले बागमतीमा मेयर र उपमेयरमा एकल नाम सिफारिस गरेपनि अन्य पालिकामा उम्मेद्वार छान्न सकेको छैन् ।
नगर कमिटीहरुबाट दुई भन्दा बढीको नाम आएको र जिल्ला कमिटीले गरेको ती नामहरुको सिफारिसका आधारमा शनिबारसम्ममा प्रदेश कमिटीले उम्मेदवारहरु टुंग्याउने एमाले सर्लाहीका उपाध्यक्ष विदुरकुमार प्याकुरेलले जानकारी दिए । नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीभित्र पनि उम्मेदवारबारे अन्यौलता नै छ ।
माओवादी केन्द्रले बागमती नगरपालिकामा मेयरमा पुन : भरत कुमार थापा र उपमेयरमा लिला कुमारी मोक्तान तथा हरिवन नगरपालिकामा मेयरमा २०७४ का प्रत्यासी समेत रहेका जिल्ला संयोजक कमल बुढाथोकी र उपमेयरमा पद्मा मोक्तानको एकल नाम सिफारिस गरेको छ । त्यो बाहेक अन्य पालिकामा उम्मेद्वार टुंगिएका छैनन् ।
माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकीले १० गतेसम्म गठवन्धनभित्र चुनावी तालमेलको प्रयास गरिने बिहीबार साँझ उज्यालो अभियानसँगको कुराकानीमा बताएका छन् । सत्ताधारी दलहरुबीच तालमेलबारे निर्णय नै कुरिरहेको सो पार्टीका नेताहरु बताउँछन् ।
नेकपा एकीकृत समाजवादीले हरिवनमा मेयरका लागि जिल्ला अध्यक्ष समेत रहेका सुरेन्द्र लामाको नाम एकल सिफारिस गरेको छ । सो पार्टीले पनि अन्य पालिकामा तालमेलको निर्णय कुरिरहेको बुझिएको छ ।
यस्तै, जसपाले उम्मेदवारबारे अन्तिम निर्णय गरिसकेको छैन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले भने एक दर्जन पालिकामा मेयर तथा अध्यक्षको टुंगो लगाइसकेको र बाँकीमा एक÷दुई दिनमै उम्मेद्वार टुंगाउने लोसपाका जिल्ला अध्यक्ष रामप्रसाद यादवले दावी गरे ।
लोसपाले चन्द्रनगर, कौडेना, गोडैता, ब्रम्हपुरीलगायतका पालिकामा अहिलेकै प्रमुखलाई दोहो¥याउने भएको छ । चुनावको महोल सुरु भइसक्दा दलहरुले उम्मेदवार छान्न नसक्दा आम मतदाता र कार्यकर्ता भने अन्यौलमा परिरहेका छन् ।