logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बरहथवाका मेयर देवानन्दले पनि फिर्ता गरे गाडी


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकाका जनप्रतिनिधिले पनि सरकारी सुविधाको गाडी फिर्ता गरेका छन् ।

सोहीक्रममा बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले नगरप्रमुखमा निर्वाचित भएपछि लिएको सरकारी सुविधाको गाडी सोमबार फिर्ता गरेका हुन् । नगरप्रमुख महतोले प्रयोग गर्दै आइरहेको बा. २ झ ४४३५ नम्वरको जीप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापालाई हस्तान्तरण गरेका हुन् ।

सोमवार नै नगर उपप्रमुख सीतादेवी माझी, आठ जना वडाध्यक्ष र दुई जना कार्यपालिका सदस्यले पनि सुविधाको सवारी फिर्ता गरेको बरहथवा नगरपालिका कार्यालयले जनाएको छ । बरहथवा नगरपालिकाले नगरप्रमुख र उपप्रमुखलाई दुईवटा जीप, १८ वटा वडाका वडाध्यक्ष र तीन जना पुरुष कार्यपालिका सदस्यलाई मोटरसाइकल र पाँच जना कार्यपालिका सदस्यलाई स्कुटर प्रदान गरेको थियो ।

बाँकी जनप्रतिनिधिलाई पनि तत्कालै सरकारी सुविधाको गाडी फिर्ता गर्न भनिएको नगरप्रमुख महतोले बताए । यस्तै, सोमवार नै चन्द्रनगर गाउँपालिका–२ का वडाध्यक्ष रामनारायण महतोले सरकारी सुविधाको मोटरसाइकल गाउँपालिका कार्यालयलाई फिर्ता गरेका छन् ।