कार्यक्रममा पूर्व प्रहरी संगठनका अध्यक्ष दल बहादुर गोले सहितका पदाधिकारीलाई जमिनको लालपूर्जा हस्तान्तरण गर्दै प्रयागराज पोते (दायाँ) तथा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)
हरिवन – हरिवन बजार निवासी व्यापारी प्रयागराज पोतेले पूर्व प्रहरी संगठन तथा भूतपूर्व सैनिक संगठनलाई आफ्नै भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेका छन् ।
शुक्रबार बिहान ईलाका प्रहरी कार्यालय हरिवनमा आयोजित एक समारोहबीच जग्गादाता पोतेले पूर्व प्रहरी संगठनका पदाधिकारीहरुलाई आफूले पास गरिदिएको जमिनको लालपूर्जा हस्तान्तरण गरेका छन् । स्व. बुबा बालकृष्ण पोतेको स्मृतिमा आमा नारायण देवी पोते एवं दाजुहरु राजकुमार पोते, बाल कुमार पोते र आफूले पूर्व प्रहरी संगठन सर्लाहीको कार्यालय भवन निर्माणका लागि हरिवन नगरपालिका–११, नगरपालिका कार्यालयले निर्माण गरिरहेको औद्योगिक ग्रामको पछाडीपट्टि १० धुर जमिन निःशुल्क प्रदान गरेको प्रयागराज पोतेले जानकारी दिए ।
पूर्व प्रहरी संगठन सर्लाहीका अध्यक्ष दल बहादुर गोलेको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंको प्रमुख आतिथ्यता रहेको जग्गा दान कार्यक्रममा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक भूपेन्द्र गिरी, पूर्व प्रहरी संगठन मधेश प्रदेशका सह-सचिब हरि बहादुर अधिकारी, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री, उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ, कृष्ण श्रेष्ठ लगायतले स्वागत एवं शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरुले धन भएर पनि मन नहुनेहरुका लागि प्रयागराज पोते सहित सम्पूर्ण पोते परिवारले आफूलाई समाजसेवामा उदाहरणीय एवं प्रेरणादायी रुपले अब्बल सावित गरेको भन्दै प्रशंसा गरेका थिए । पोते परिवारले यसअघि पनि ईलाका प्रशासन कार्यालय हरिवन, ईलाका प्रहरी कार्यालय हरिवन लगायतको भवन निर्माणका लागि पनि जग्गा दान गरेका थिए ।
पूर्व प्रहरी संगठनका लागि जग्गा उपलब्ध गराउनका लागि मेयर प्रसाईं तथा ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक गिरीले विशेष पहल गरेको बताईएको छ । कार्यक्रममा बोल्दै पूर्व प्रहरी संगठनका अध्यक्ष गोलेले निःशुल्क जग्गा उपलब्ध गराएर पोते परिवारले पूर्व प्रहरीहरुका लागि ठूलो गुन लगाएको भन्दै आभार प्रकट गरे ।
कार्यक्रममा भूतपूर्व सैनिक संगठनका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो । पोतेले भूतपूर्व सैनिक संगठनलाई समेत पूर्व प्रहरी संगठनको छेउमा १० धुर जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाए । उनले पूर्व प्रहरी संगठनले जस्तै तत्काल प्रकृया पूरा गरेर आई जमिन पास गरेर लिन समेत भूतपूर्व सैनिक संगठनका पदाधिकारीलाई आग्रह गरेका छन् ।
कार्यक्रमकै अवसरमा पूर्व प्रहरी संगठन सर्लाहीले ईलाका प्रहरी कार्यालय हरिवनबाट सरुवा भएका प्रहरी निरीक्षक गिरीलाई मायाको चिनो प्रदान गर्दै बिदाई सम्मान समेत गरेको छ । जग्गा प्राप्तिका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै पूर्व प्रहरी संगठनका पदाधिकारीले प्रहरी निरीक्षक गिरीप्रति हार्दिक आभार समेत प्रकट गरे ।