logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बागमती एमालेले टुंग्यायो मेयर, उपमेयर र नौ वडामा एकल उम्मेद्वार


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/बागमती – सर्लाहीको बागमती नगरपालिकामा नेकपा (एमाले)ले मेयर, उपमेयरसहित नौजना वडाध्यक्षमा एकल उम्मेद्वार तय गरेको छ ।

नगर समितिको पटक–पटकको छलफल र बैठकले मेयर, उपमेयरसहित नौजना वडाध्यक्षको सर्बसम्मतीबाट टुंगो लगाएको हो । नगर कमिटी अध्यक्ष समेत रहेका गोकुल उपनामका टंक बहादुर बस्नेत तथा उपमेयरमा सरिता घिसिङलाई बागमती एमालेले एक्लो उम्मेद्वारको रुपमा टुंगो लगाएको नगर ईन्चार्ज विभा नेपालले जानकारी दिईन् । एमालेले उपमेयरमा प्रस्ताव गरेकी घिसिङ २०७४ सालको स्थानीय तह निर्वाचनमा बागमती नगरपालिका-२ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित दिपक लामाकी श्रीमति हुन् ।

बागमती नगरपालिका वडा नम्वर १ मा सीता थापा, २ मा धनबहादुर जिम्बा, ३ मा हिरालाल स्याङ्तान, ४मा रिपु मर्दन आले, ५ मा रामेश्वर मैनाली, ८ मा डम्बरबहादुर कार्की, ९ मा रामबावु दास, १० मा ओमनारायण श्रेष्ठ, र ११ नम्बर वडामा उज्वल दाहाल वडाध्यक्षको उम्मेद्वारको रुपमा सर्वसम्मतीले निर्णय भईसकेको नगर कमिटी अध्यक्ष बस्नेतले जानकारी दिए । वडा नम्बर ६, ७ र १२ मा भने सहमती हुन सकेको छैन । नगर अध्यक्ष बस्नेतका अनुसार सहमती नभएका तीनवटै वडामा पनि एक/दुइ दिन भित्रै वडाध्यक्षको उम्मेद्वार टुंग्याईने छ ।

एमाले कतिपय पालिका स्तरीय कमिटीले भने मेयर र उपमेयर सहित वडाध्यक्षहरुमा एकभन्दा बढीजनाको नाम जिल्ला कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ भने कतिपय पालिकामा अझै सिफारिसको निर्णय हुन सकेको छैन । जिल्ला कमिटी उपाध्यक्ष विदुर प्याकुरेलले दुईतीन दिनभित्र सबै पालिकाबाट मेयर, उपमेयर सहित वडाध्यक्षका उम्मेद्वारहरुको नाम सिफारिस भएर आईसक्ने जानकारी दिए ।