logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीका डीएसपी सहित ७ जना प्रहरी पुरस्कृत


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय सर्लाही ।

मलंगवा – बालक अपहरण तथा हत्या घटनामा सफल अनुसन्धान गरेर तत्काल अभियुक्त नियन्त्रणमा लिन सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवाले प्रहरी नायब उपरीक्षक(डीएसपी) माधव प्रसाद बुढाथोकी सहित ७ जनालाई पुरस्कृत गरेको छ ।

सर्लाहीको मलंगवा नगरपालिका–१२, गम्हरिया निवासी दिपेन्द्र ठाकुरका छोरा ८ वर्षीय मिठु भन्ने आकाश ठाकुरको अपहरण तथा हत्या घटनामा सफल अनुसन्धान गरि तत्काल अभियुक्तहरु नियन्त्रणमा निल सफल भएको भन्दै जिल्ला प्रहरी कार्यालय मलंगवाले डीएसपी बुढाथोकी सहित ७ जनालाई पुरस्कृत गरेको हो । पुरस्कृत हुनेहरुमा जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत महानगरिय प्रहरी परिसर काठमाडौं सरुवा भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) कृष्ण गिरी, जिल्ला प्रहरी कार्यालय मलंगवामै कार्यरत ईलाका प्रहरी कार्यालय धोबिडाँडा रामेछाप सरुवा भएका इन्स्पेक्टर जटाशंकर यादव र ईलाका प्रहरी कार्यालय लालबन्दीमा कार्यरत महानगरिय प्रहरी वृत्त ठिमी भक्तपुर सरुवा भएका इन्स्पेक्टर निर्मल थापा समेत रहेका छन् । यस्तै, प्रहरी चौकी गण्डक पर्सामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रंजित पाण्डे, प्रहरी चौकी फेटा बारामा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी हवल्दार सन्तोष कुमार यादव र ईलाका प्रहरी कार्यालय पकली सुनसरी दरबन्दी भई जिप्रका मलंगवामै कार्यरत प्रहरी सहायक हवल्दार दुर्गा बहादुर कटुवाललाई नगदसहित अभिलेखमा जनिने गरि पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । प्रहरी निरीक्षक गिरीले त मलंगवामा कार्यरत रहेको एक वर्षमै उत्कृष्ट काम गरेको भन्दै यो सहित पाँचौ पटक पुरस्कार थाप्न भ्याईसकेका छन् ।

गत चैत २० गते राती ८ बजेदेखि आफ्नै घरको आगनबाट हराएका आकाशको गत चैत २४ गते छिमेकी जगदिश बडहीको सौचालयको सेफ्टी ट्यांकीभित्र शव फेला परेको थियो । बालकको हत्यामा संलग्न ८ जनालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । प्रहरीले घटनाका मुख्य अभियुक्त कमलेश ठाकुरलाई भारतबाट पक्राउ गरेर ल्याएको थियो भने जगदिश बडही तथा उनका एक छोरा एवं दुई बुहारी सहित ७ जनालाई गाउँबाटै पक्राउ गरेको थियो ।

प्रहरी उपरीक्षक प्रविण पोखरेलले बालक अपहरण तथा हत्या घटनामा दिनरात नभनी खटेर सफल अनुसन्धान गर्दै तत्काल अभियुक्तहरु नियन्त्रणमा लिन सफल अनुसन्धानमा खटिएको टोलीका सदस्यहरुलाई पुरस्कृत गरिएको जानकारी दिए । ‘बालकको अपहरण पश्चात हत्या नै जस्तो जघन्य घटना त भयो, बालकको सकुशल उद्धार गर्ने चाहना हुँदाहुँदै सकिएन’, प्रउ पोखरेलले उज्यालो अभियानसँग भने, ‘तथापी अनुसन्धान टोलीले सफल अनुसन्धान गरेर तत्काल अभियुक्तहरु नियन्त्रणमा लिन सफल भयो, जसले गर्दा दिनरात नभनी काम गर्ने टोलीलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिएको हो ।

यो पनि पढ्नोस्

किन र कसरी हत्या गरेर सेफ्टी ट्यांकीमा फालियो ८ वर्षीय बालकलाई ? (तस्बिरहरु सहित)