logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

हरिवनका मेयर प्रसाईंले फिर्ता गरे सुविधाको गाडी


  • उज्यालो अभियान

हरिवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौला(बायाँ) लाई आफूले चढ्दै आएको जीपको चाबी हस्तान्तरण गर्दै मेयर गणेश प्रसाद प्रसाईं । (तस्बिर ः उज्यालो अभियान)

हरिवन – हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले नगरपालिकाबाट प्राप्त सुविधा अन्तर्गत चढ्दै आएका जीप फिर्ता गरेका छन् ।

शुक्रबार बिहान नगरपालिका कार्यालय परिसरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौलालाई मेयर प्रसाईंले जीपको चाबी हस्तान्तरण गरेका छन् । स्थानीय तहको निर्वाचनमा चुनाव प्रचार प्रसार लगायत पार्टीको काममा सार्वजनिक सम्पतिको दुरुपयोग नहोस् भन्ने उद्धेश्यले नगरपालिकाबाट सुविधामा चढ्दै आएको जीप फिर्ता गरेको मेयर प्रसाईंले बताएका छन् । उनले अब साथिभाईहरुले उपलब्ध गराउने जीप वा मोटरसाईकलमै यात्रा गरेर चुनाव प्रचार प्रसार एवं पार्टीको काममा सकृय हुने बताए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाले मेयर प्रसाईंले नगरपालिकाबाट सुविधा अन्तर्गत प्राप्त प्र.२–०३–०००१ झ ००२० नम्बर जीपको चाबी आफूलाई हस्तान्तरण गरेको जानकारी दिए । निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाका अनुसार स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्बन्धी ऐन २०७५ अनुसार कार्यपालिका सदस्यहरुले पाईरहेको सबै सेवा सुविधा २०७९ वैशाख १ गतेबाट नलिने भनी २०७८ चैत २२ गतेको नगर कार्यपालिकाको बैठकले निर्णय गरे अनुसार मेयर प्रसाईंबाट जीप फिर्ता भएको हो । वडाध्यक्षहरुले पनि सुविधा बापत नगरपालिकाबाट पाएका मोटरसाईकल फिर्ता गरिसकेको निमित्त प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

मेयर प्रसाईंका अनुसार सिफारिसमा हस्ताक्षर लगायत यसअघि गरिँदै आएका जनताको काम अझैपनि गर्नुपर्ने भएकाले नगरपालिकाबाट प्राप्त मोबाईल सिमकार्ड भने चलाईने तर रिचार्ज भने आफ्नै पैसाले गर्नुपर्ने छ । त्यस्तै कार्यपालिका बैठक बस्नु परेको खण्डमा पनि बैठक भत्ता भने नलिने कार्यपालिका बैठकले गरेको मेयर प्रसाईंले जानकारी दिए । प्रसाईं एमालेबाट आगामी निर्वाचनमा हरिवन नगरपालिकाकाे मेयरमा पुनः उम्मेद्वारी दिने तयारीमा छन् ।