logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

बरहथवाको चक्र जनता माविले स्वर्ण जयन्ति मनायो


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका-५, मा रहेको चक्र जनता शहीद गंगा माध्यमिक विद्यालयले बुधबार आफ्नो स्वर्ण जयन्ति मनाएको छ ।

विद्यालय स्थापना भएको ५० वर्ष पुगेको अवसरमा स्वर्ण जयन्ति धुमधामसँग मनाइएको हो । स्वर्ण जयन्तिमा विद्यालय संचालनका लागि सहयोग गर्ने दाता, पूर्व व्यवस्थापन समितिका अध्यक्ष, पूर्व प्रधानाध्याक, पूर्व विद्यार्थीलगायत १५० जना भन्दा बढीलाई सम्मान गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रामबालक सिंहले जानकारी दिए ।

कार्यक्रममा नेपाली सेनाद्वारा प्रदान गरिने राष्ट्रिय सेवा दल तालिममा विद्यालयबाट सहभागी विद्यार्थीहरुले परेड प्रर्दशन गरेका थिए । स्वर्ण जयन्ति समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन कुमार अमात्यको अध्यक्षता तथा समाजसेवी ध्रुबनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत विभिन्न राजनैतिक दलका नेताहरुकाे उपस्थिती रहेकाे थियाे । संघीय सरकारका शिक्षामन्त्री देवेन्द्र पौडेललाई प्रमुख अतिथि बनाएर स्वर्ण जयन्ति मनाउने तयारी गरेपनि निर्वाचन आचारसंहिताका कारण उनलाई ल्याउन नसकिएको विद्यालयले जनाएको छ ।

स्वर्ण जयन्तिमै विद्यालयले प्रकाशित गरेको स्मारिका विमोचन गरिएको विद्यालयका प्रधानाध्यापक रामबहादुर रायले बताए । त्यसैगरी, विद्यालयका संस्थापक स्वर्गिय चक्रबहादुर अमात्य र शहीद गंगालाल श्रेष्ठको विद्यालय परिसरमा शालिक निर्माण गरेर अनावरण गरिएको छ ।

फाेटाे क्याप्सन : स्वर्ण जयन्ती महाेत्सवका अवसरमा बुधबार विद्यालय परिसरमा आयाेजित समाराेहमा उपस्थित व्यक्तित्वहरु । (तस्बिर : उज्यालाे अभियान)