logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

चुरे क्षेत्रमा खानेपानीकाे हाहाकार, पालिकाले बनाएका संरचना अस्तव्यस्त


  • उज्यालो अभियान

लालबन्दी – सुक्खा बढ्दै जाँदा सर्लाहीको चुरे क्षेत्रका बस्तीहरुमा खानेपानीको हाहाकार मच्चिन थालेकाे छ ।

हिजोआज चुरेपाखोका बस्तीमा रहेका अधिकांश कुवा र इनार सुकेका छन् । खडेरी लाग्ने केही महिना जिल्लाको चुरेक्षेत्रमा पर्ने भालुखोप‚ केराबारी, बेलडाँडा, विलन्दी, काैवा, दापडाँडा, कालिन्जोर, गुईडुङ, परवानीपुर, नारायणखोला, अत्रौली लगायतका क्षेत्रमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ ।

बढ्दो वन विनाश र उत्खननले गर्दा पछिल्ला वर्षहरुमा खानेपानीका स्रोतहरु चाँडो सुक्न थालेका जानकारहरु बताउँछन् । चुरेक्षेत्रका बासिन्दा एक गाग्री खानेपानी जोहो गर्न घण्टौं उकालीओराली गर्न बाध्य भएका छन् ।

गाउँका ४०/४५ घरधुरीका लागि एउटा मात्रै कुवा रहेको र त्यस कुवामा रातभरि जम्मा भएको पानीले दुई/चार घरलाई समेत नपुग्ने अवस्था रहेको हरिवन नगरपालिका-१, केराबारीकी रश्मिला जिम्बाले गुनासाे गरिन् ।

उनका अनुसार गाउँका अधिकांशले अहिले नजिकैको खोला, कुवा र छिमेकी गाउँबाट पानी ल्याएर खाइरहेका छन् । दूषित पानी पिउँदा स्थानीय वासिन्दा बर्सेनि झाडापखालालगायत अन्य पानीजन्य रोगको शिकार बन्दै आएका जिम्बाले बताईन् ।

´खानेपानी आउँदा बाजागाजा सहित खसी काटेर भाेज गरेका गाउँले अहिले फेरि खानेपानी लिन घण्टाैं उकाली ओराली गर्नुपर्ने पूरानै कष्टपूर्ण दैनिकीमा फर्कन बाध्य भएका छन् ।`

पालिकाहरुले बच्चालाई तत्काल फकाउन ललिपप दिएजस्तै गरि अस्थायी ढंगले खानेपानीकाे लागि बनाईएका संरचनाहरु भत्केर काम नलाग्ने भएका छन् । लिफ्टिङ मार्फत तलकाे पानी चुरे डाँडामा बसाेबासरत बासिन्दाका लागि खानेपानीकाे व्यबस्था मिलाईए पनि केही समयपछि नै त्यस्ता संरचनाहरुले काम गर्न छाडेका छन् । खानेपानी आउँदा बाजागाजा सहित खसी काटेर भाेज गरेका गाउँले अहिले फेरि खानेपानी लिन घण्टाैं उकाली ओराली गर्नुपर्ने पूरानै कष्टपूर्ण दैनिकीमा फर्कन बाध्य भएका छन् ।

लालबन्दी नगरपालिका-१२ भालुखोपका वीरबहादुर रानाले फागुनदेखि दुई/तीन महिना खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको गुनासो गरेका छन् । वन क्षेत्रमा डढेलो लाग्न थालेसँगै चुरेभेगमा खानेपानीको अभाव थप बढेको ईश्वरपुर नगरपालिका-१२, कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिनले बताए । चुरेभेगमा घरहरु छरिएर रहेका कारण खानेपानीको सुविधा पुर्याउन निकै कठिनाई भइरहेको वडाध्यक्ष पाख्रिनले जानकारी दिए ।

फाेटाे क्याप्सन : लालबन्दी नगरपालिका–१२, भालुखोपका एक स्थानीय गाग्रोमा कुवाको पानी भर्दै । (तस्बीर : उज्यालो अभियान)