logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

किन र कसरी हत्या गरेर सेफ्टी ट्यांकीमा फालियो ८ वर्षीय बालकलाई ? (तस्बिरहरु सहित)


  • उज्यालो अभियान

विहिबार बिहान सेफ्टी ट्यांकीबाट निकालिएको छोराको शव देख्ने वितिकैदेखि अचेत बनेकी मृतक आकाश ठाकुरकी आमा महासुन्दर ठाकुरलाई सम्हाल्दै आफन्त एवं छिमेकीहरु ।

टंक बहादुर क्षेत्री/मलंगवा – आठ वर्षीय बालकलाई बन्धक बनाएर हत्या गरेको घटनामा मुख्य अभियुक्तले नक्कली फेसबुक आईडी बनाएर सकृय हुँदा सबै अभियुक्तहरु प्रहरी फन्दामा पुगेको खुलेको छ ।

गत चैत २० गते आईतबार राती ८ बजेदेखि हराएका मलंगवा नगरपालिका–१२, गम्हरिया निवासी दिपेन्द्र ठाकुरका ८ वर्षीय छोरा मिठु भन्ने आकाशको शव चैत २४ गते विहिबार बिहान छिमेकी जगदिश बडहीको घरमा रहेको सौचालयको सेफ्टी ट्यांकीमा प्रहरीले फेला परेको थियो । सो घटनामा जिल्ला प्रहरी कार्यालयले गत बुधबार राती नै जगदिश बडही तथा उनका एक छोरा एवं दुई बुहारी सहित ७ जनालाई नियन्त्रणमा लिएको थियो भने हालसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा मुख्य अभियुक्त ठानिएका कमलेश ठाकुरलाई गत शुक्रबार पक्राउ गरेको छ ।

यसरी गायब भए बालक

अपहरण पछि हत्या गरिएका ८ वर्षीय आकाश ठाकुर ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार २० गते राती आँगनमा खेलिरहेका आकाशलाई एक घर छाडेर उत्तरको अर्को घरवाला जगदिशका छोरा कमलेश लगायत परिवारका सदस्यहरुले नियन्त्रणमा लिएर आफ्नै घरमा बन्धक बनाएका थिए । जतिखेर मृतक बालककी आमा महासुन्दर ठाकुर भैंसीलाई घाँसपात गर्दै थिईन् । उनीहरुले घरभित्र लाने बितिकै आकाशलाई फ्रुटी किनेर दिएका थिए । फ्रुटी खाउञ्जेल चुप लागेर बसेका आकाश रुन र चिच्याउन थालेपछि भने परिवारका सदस्यलाई समस्या आईपर्यो । किनकी आकाशकी आमा लगायत अन्य छिमेकीहरु बालकको खोजीमा जुटिसकेका थिए । सँगै जगदिशका परिवारका केही सदस्य पनि बालकको खोजीमा जुटेको जस्तो गरेका थिए । जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतका अनुसार आकाशलाई राती अबेरसम्म घरभित्रै फकाएर नियन्त्रणमा राख्न सकेको भए सायद अभियुक्तहरुले आमा महासुन्दर सहित सबै गाउँले सुतिसकेपछि अन्यत्रै लगेर बालकलाई सुरक्षीत राख्ने योजना थियो ।

अभियुक्तको बयानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार तर बालक चिच्याउन र रुन थालेपछि उनीहरुले हतार हतार डोरीले घाँटीमा कसेर तथा धारिलो हतियार समेत प्रयोग गरेर तत्काल आकाशको हत्या गरे । जगदिशको घरको दोस्रो तल्लाको दक्षिणपट्टीको कोठामा हत्या गरेर आकाशको शव सेतो प्लाष्टिकको बोरा भित्र हालियो । दक्षिण कोठाको भित्तामा रगतको टाटा समेत देखिनुले हत्यामा धारिलो हतियार समेत प्रयोग भएको प्रहरीले अनुमान गरेको छ । राती अबेर छरछिमेक अनि गाउँका सबै सुतिसकेपछि अभियुक्तहरुले बोराभित्र हालेको आकाशको शव घरभित्रै (अगाडीपट्टी) भुईतलामा रहेको सौचालयको सेफ्टी ट्यांकी भित्र हलिदिए ।

मिठु भन्ने आकाश ठाकुरको हत्या गरेर शव फालिएको सेफ्टी ट्यांकीको ढकन ।
मुख्य अभियुक्त कमलेश ठाकुर तथा उनका बुबा जगदिश बडहीको घर । यही घरको माथिल्लो तलाको दक्षीण कोठामा बालकको हत्या गरेर भुईतलामा उत्तरपट्टी रहेको सेफ्टी ट्यांकीमा शव हालिएको थियो ।
नाती आकाशको शव सेफ्टी ट्यांकीबाट निकालिए पछि गत विहिबार बिहान घरको आगनमा भावविव्हल मुद्रामा मृतक बालकका हजुरबुबा ।

कमलेश आफैले मृत बालकलाई ज्यूँदै खोज्ने नाटक मञ्चन गरे

यता छोरा बेपत्ता भएको खबर पाउने बितिकै वैदेशिक रोजगारीका सिलसिलामा बहराईनमा कार्यरत आकाशका बुबा दिपेन्द्र ठाकुर लगतै घर आए । घर आउने बितिकै दिपेन्द्र छोराको खोजतलासमा अहोरात्र लागिपरे । चैत २१ गते आईतबार राती अझ भनौ सोमबार बिहान १२ बजेर ३२ मिनेटमा मृतक बालक आकाश शर्माको नाममा रहेको फेसबुक एकाउन्टबाट उनको फोटो राखेर ‘लापत्ता भएको छ गम्हरियाबाट कसैले भेट्टाए भन कन्ट्याक्ट ९८०८४४९६४० नाम आकाश’ पोष्ट भयो । त्यसको झण्डै साँढे १५ घण्टा पश्चात अप्रिल ४ तारिख अर्थात सोमबार दिउँसो ३ बजेर ५८ मिनेटमा मुख्य अभियुक्त कमलेश ठाकुरले कमलेश शर्मा नामको आफ्नो फेसबुक एकाउण्टबाट आकाश शर्माले गरेको पोष्ट शेयर गरेका छन् । मुख्य अभियुक्त कमलेश आफै तथा उनका आफन्तहरु पनि बालकको खोजीमा जुटेको जस्तो गर्ने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

मुख्य अभियुक्तबाट ‘नक्कली’ फेसबुक मार्फत धम्की र रकम माग सूरु

आकाश शर्माको आईडीबाट मृतक बालक जिउँदो हुँदा खेरीको तस्बिर राखेर भएको पोष्ट ।

आकाश शर्माको पोष्टमा १६ वटा लाईक, स्याड अनि जम्मा ३ वटामात्र कमेन्ट गरिएको छ । ती तीनवटै कमेन्ट भने राकेश शर्मा नामको फेसबुक आईडीबाट भएको छ । राकेश शर्माको आईडीबाट सोमबार दिउँसो १२ बजेर १२ मिनेटमा, १२ बजेर १३ मिनेटमा र १२ बजेर १७ मिनेटमा ३ वटा कमेन्ट गरिएको छ । पहिलो कमेन्टमा ‘पहिले हला शान्त कर’ भनिएको छ । त्यस्तै दोस्रो कमेन्टमा ‘हम पत्ता लगादेबौ’ भनिएको छ भने तेस्रो कमेन्टमा ‘चारु ओरी खोजी छे बेकार मे मरल जतौ’ भनेर धम्की समेत दिईएको छ ।

मृतक बालककी आमा महासुन्दरले २० गते आईतबार राती ११ बजे नै छोरा बेपत्ता भएको भन्दै प्रहरीलाई खबर गरिसकेकी थिईन् । सोही अनुसार प्रहरीको एक टोली बालकको खोजतलास एवं अनुसन्धानमा जुटिसकेको थियो । त्यही बीचमा राकेश शर्माकै नामबाट मृतक बालकका मामालाई म्यासेन्जरमा ‘मुकेश सुनिछिउ दिपेन्द्र बेटा हेरा गेल हौ १५ लाख रुपैंया देबेला मुर्तिया है’ भनेर १५ लाख रुपैंया चाहिन्छ बालक ल्याईदिन्छु भन्ने आशयको म्यासेज समेत आउँछ ।

पैसा माग्दै बालकको मामाको म्यासेञ्जरमा राकेश शर्मा नामको आईडीबाट आएको म्यासेज ।

जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोलीले आकाश शर्माको पोष्टमा ३ पटक लगातार कमेन्ट गर्ने र मृतक बालकको मामालाई म्यासेन्जरमा १५ लाख रुपैंया माग गर्ने राकेश शर्माको फेसबुक आईडीबाट अनुसन्धान सूरु गर्यो । तर उक्त आईडीमा न त आईडीवालाको फोटो नै छ, न त कुनै पोष्टहरु गरिएको छ अनि न कोही फ्रिण्ड नै छन् । त्यस्तै प्रोफाईलको बारेमा समेत केही लेखिएको छैन ।

उक्त फेसबुक आईडी घटनाको मुख्य योजनाकारले भर्खरै नक्कली खोलेको हुन सक्ने अनुमानका साथ उक्त आईडी कसले र कुन डिभाईसबाट खोलेको हो ? भन्ने कुरा पत्ता लगाउन अनुसन्धानमा खटिएको प्रहरी टोली जुटेको थियो । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृत भन्छन्, ‘सानो कलकलाउँदो बालक बेपत्ता भएको हुँदा दिनरात नभनी खटिएको थियो, किनकी बालकको तत्काल जसरी पनि उद्धार अनि अभियुक्तहरुलाई नियन्त्रणमा लिनु थियो ।’ किनकी अनुसन्धानमा जुटेको प्रहरीलाई अझैपनि बालकलाई जिउँदै कसैले नियन्त्रणमा राखेको होला भन्ने आशा थियो ।

फेसबुकको प्रधान कार्यालय सिंगापुरको ठूलो सहयोग

नेपाल प्रहरीको साईबर क्राईम ब्यूरो, प्रहरी प्रधान कार्यालय लगायतका प्रविधिमा पोख्त प्रहरी अधिकृतहरुले जति प्रयास गर्दा पनि राकेश शर्माको आईडी कसले चलाउँछ भन्ने पत्ता लागेन । अनुसन्धानमा खटिएका जिल्ला प्रहरी कार्यालय मलंगवाका एक प्रहरी अधिकृतले भने, ‘जिल्ला प्रहरी कार्यालय मलंगवाको लिखित अनुरोध अनुसार साईबर क्राईम ब्यूरो हुँदै प्रहरी प्रधान कार्यालयबाट फेसबुकको प्रधान कार्यालय सिंगापुरमा उक्त फेसबुक आईडीको विस्तृत विवरण उपलब्ध गराउन पत्राचार गरिएको थियो । तर फेसबुकको प्रधान कार्यालयले कम्तिमा १५ दिन लाग्ने बताउँदा त हाँमीमा एक प्रकारको छट्पट्टी नै पैदा भयो । तर १० वर्ष भन्दा कम उमेरको बालक बेपत्ता भएको केस भएको दलिल पेस गरेपछि भने ३ दिनको दिन फेसबुक प्रधान कार्यालयबाट फलानो मोडेलको मोबाईल डिभाईसबाट उक्त आईडी खुलेको हो भन्ने जानकारी आयो ।’ उक्त मोबाईल सेटको आईएमई नम्बर, प्रयोग भएको सिम लगायत भिडाएर हेर्दा मुख्य अभियुक्त कमलेश ठाकुरले चलाउने गरेको प्रहरी टोलीले पत्ता लगायो ।

चैत २३ गते बुधबार साँझदेखि कमलेशका बुबा जगदिश लगायत उनका आफन्तलाई जिल्ला प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएर सोधपुछ सूरु गर्यो । सोधपुछका क्रममा अन्यको नाम समेत पोलिएपछि ती सबै ७ जनालाई बुधबार राती १ बजेसम्म गम्हरिया स्थित घर–घरबाट प्रहरी टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मलंगवा ल्याएको थियो । तर मुख्य अभियुक्त कमलेश भने भारततर्फ भागिसकेका थिए । पक्राउ परेकाहरुलाई बुधबार राती नै सोधपुछ गर्दा बालकको हत्या भईसकेको र जगदिश बडहीको घरको सौचालयको सेफ्टी ट्यांकीमा शव फालिएको रहस्य खुल्यो ।

लगतै विहिबार बिहान जगदिशको घरको सौचालयको सेफ्टी ट्यांकीको ढक्कन खोलेर हेर्दा मिठु भनिने ८ वर्षीय बालक आकाश ठाकुरको शव बोरा भित्र हालेको अवस्थामा फेला पर्यो । पक्राउ परेका मलंगवा नगरपालिका–१२ गम्हरिया टोलाका ६० वर्षीय जगदिश बडही, जगदिशका छोरा २१ वर्षीय कृष्ण ठाकुर, कृष्णकी श्रीमती १८ वर्षीया निरुता शर्मा, सोही स्थान बस्ने २५ वर्षीया संगिता बडही, करियकवा भन्ने सुनिल ठाकुर बडही, ५० वर्षीय नेवा ठाकुर र मलंगवा–११ निवासी ३१ वर्षीय राकेश ठाकुर विरुद्ध अपहरण तथा शरिर बन्धक बनाई कर्तव्य ज्यान मुद्धामा जिल्ला अदालत मलंगवाबाट गत शुक्रबार ७ दिनको म्याद लिएर जिल्ला प्रहरी कार्यालयको टोलीले थप अनुसन्धान एवं कार्बाही प्रकृया अगाडी बढाएको छ । शुक्रबार नै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवको टोलीले भारतकाे सितामढी क्षेत्रमा लुकेर बस्दै आएका मुख्य अभियुक्त कमलेश ठाकुरलाई पनि पक्राउ गरेर ल्याएको छ । कमलेशलाई उनकै ससूरा मार्फत कुराकानी गरेर प्रहरी टोलीले भारतबाटै नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनायो ।

यदि मुख्य अभियुक्त कमलेशले नक्कली फेसबुक आईडी नखोलीकन कतै धम्की र रकम माग नगरेको भए प्रहरीलाई अनुसन्धान अगाडी बढाएर अभियुक्त सम्म पुग्न निकै कठिन मात्र थिएन ती बालकको शव सेफ्टी ट्यांकीमै सड्ने निश्चित थियो । किनकी सेफ्टी ट्यांकी आफैमा दुर्गन्ध फैलने ठाउँ भएकाले शव गन्हाएर आउने दुर्गन्ध समेत सेफ्टी ट्यांकीकै दुर्गन्धमा हराउने थियो, जसले गर्दा छरछिमेक अनि गाउँलेले समेत केही थाहा पाउँदैन थिए ।

जगदिश र उनका साख्खै दुई छोरा अनि दुई बुहारी सहित एउटै परिवारका ५ जना र अर्का तीनजना गरी जम्मा ८ जनालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान एवं कार्बाही प्रकृया अगाडी बढाएको छ । पक्राउ परेकाहरुमा जगदिश तथा उनका छोरा कमलेश र उनकी श्रीमति संगिता बडही पनि रहेकी छिन् । त्यस्तै जगदिशका अर्का छोरा कृष्ण ठाकुर र उनकी श्रीमति निरुता शर्मा समेत पक्राउ परेका छन् । प्रारम्भिक अनुसन्धान गर्ने क्रममा नाम समेत पोलिएका कारण पक्राउ परेका केही अभियुक्तको भने अनुसन्धानको दायरा बढाउँदै जाँदा घटनामा संलग्नता नहुन सक्ने सम्भावना समेत देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए । तथापी अनुसन्धानको पाटो पूर्ण रुपले नसकिएसम्म केही भन्न नसकिने उनले बताए ।

सुरक्षाकर्मीको घेरामा रहेका बालक हत्या आरोपमा बुधबार दिउँसोदेखि रातीसम्म पक्राउ परेका सातजना अभियुक्त । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)

पैसाकै लागि बालकको अपहरण अनि हत्याको आशंका

हालसम्मको अनुसन्धानबाट पैसाकै लागि बालकको अपहरण र हत्या गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए । प्रहरी स्रोतका अनुसार कमलेशले परमेश्वर भन्नेसँग जग्गा धरौटी राखेर ऋण लिएका थिए । उक्त ऋण चैत २० गते चुक्ता गर्नुपर्ने थियो । तर पैसा कतैबाट नजुटने अवस्था आएपछि १५ दिन अगाडीदेखि आकाश ठाकुरको अपहरण गर्ने र उनको परिवारसँग रकम माग गर्ने बारेमा कमलेशले करियकवा भन्ने सुनिलसँग योजना बनाएका थिए । उनीहरु सँगै दैनिक मदिरा सेवन गर्ने र कसरी योजना सफल गर्न सकिन्छ भन्ने बारेमा जुटेका थिए । ऋण चुक्ता नगरे सबै जमिन जाने डरले केही नलागेपछि चैत २० गते राती उनीहरुले आकाश ठाकुरलाई आफ्नो कब्जामा लिएका थिए । मृतक बालकका मामाको म्यासेञ्जरमा १५ लाख रुपैंया माग गरिएको म्यासेज गरिनुले पनि पैसाकै लागि बालकको अपहरण गरिएको थियो भन्ने पुष्टी हुन्छ ।

किन दिपेन्द्रकै छोरा आकाशलाई अपहरण गर्ने योजना बन्यो ?

गाउँलेहरुका अनुसार दिपेन्द्र ठाकुर निकै लामो समयदेखि वैदेशिक रोजगारीमा छन् । उनले वैदेशिक रोजगारीमा मेहेनत गरेर पठाएको पैसा श्रीमति महासुन्दरले पनि यताउती खर्च नगरी आम्दानी हुने ठाउँमै लगानी गरेकी थिईन् । दिपेन्द्रले पठाएको पैसा महासुन्दरले विश्वासिला गाउँलेहरुलाई ब्याजमा ऋण लगानी गर्ने, ठाउँ–ठाउँमा जग्गा किन्ने गरेकी थिईन् । उनीहरुको २–३ ठाउँमा घडेरी समेत रहेको बताईन्छ । केही टाढाको भएपनि आफन्त पर्ने र एक घर छाडेर छिमेकी समेत रहेका दिपेन्द्रको प्रगतिप्रति फर्निचर सम्बन्धी काम गर्ने कमलेशलाई एक्कासी ‘डाह’ जागेको प्रहरीले अनुमान गरेको छ । उनलाई दिपेन्द्रको छोरा आकाशलाई अपहरण गरेपछि सजिलै पैसा पाईन्छ भन्ने भावना जागृत भएको र सोही योजना अनुसार काम गरेको देखिएको एक प्रहरी अधिकृतले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी पोखरेलको ‘सुझबुझ’ले अनुसन्धानमा सफलता

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख एसपी प्रविण पोखरेल ।

बालक अपहरण तथा हत्याकाण्ड अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रमुखको रुपमा भर्खरै जिम्मेवारी सम्हालेका प्रहरी उपरीक्षक (एसपी) प्रविण पोखरेलको सुझबुझ पूर्ण निर्णय अनि काम गर्ने कार्यशैलीका कारण निकै चाँडै सफलता मिलेको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले जानकारी दिए । एसपी पोखरेलले चैत १३ गते आईतबार साँझ मात्र जिल्ला प्रहरी कार्यालय मलंगवाको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन् । एसपी पोखरेलले कार्यभार सम्हालेको एक साता मै अर्थात चैत २० गते राती मलंगवा नगरपालिकाको गम्हरियाबाट बालकको अपहरण भयो । सोही अपहरण घटनामा अनुसन्धान टोली गठन गरेर आफूले समेत ‘कुल माईण्ड’ अर्थात हतास नभई अनुसन्धानमा खटिएका प्रहरी अधिकृतलाई धैर्यताका साथ काम गर्न एसपी पोखरेलले अवसर दिएको र सोही अनुसार अनुसन्धानले सफलता पाएको ती प्रहरी अधिकृतले बताए ।

बालक अपहरणको अनुसन्धान अन्तिम चरणमा पुगिरहेको बेला चैत २३ गते बुधबार राती ७ बजे सदरमुकाम मलंगवामा एक भारतीय युवकको गोली हानेर हत्या भयो । त्यसपछि जिल्ला प्रहरी कार्यालयको जनशक्ति त्यसतर्फ समेत परिचालन हुनुपर्ने अवस्था आईपर्यो । ‘बालक अपहरणमा संलग्न अभियुक्तहरु पत्ता लगाउने कार्य लगभग-लगभग अन्तिम अवस्थामा पुगिसकेको थियो, त्यही बीचमा सुरक्षा निकायहरुको घेरामा रहेको सदरमुकाममै भारतीय युवकको गोली हानी हत्या भयो’, ती प्रहरी अधिकृत भन्छन्, ‘तथापी एसपी साबमा कुनै हड्बडाहट देखिएन र हाँमीलाई सहज ढंगले अनुसन्धान गर्न तथा सही मार्गनिर्देशन समेत दिईरहनु भयो, जसले गर्दा हाँमी अनुसन्धानमा खटिएका अधिकृत लगायत सुरक्षाकर्मीलाई पनि कुनै टेन्सन महसुस भएन अनि रातारात बालक अपहरण घटनाका अभियुक्तहरु पक्राउ एवं अपहरित बालकको शव फेला पार्न सक्यौं ।’

एसपी पोखरेल भने बालकलाई सकुशल उद्धार गर्न नसकिएकामा साह्रै पछुतो लागेको बताउँछन् । ‘बालकलाई बन्धक बनाएर हत्या आरोपीहरु त समातिए, तर कलकलाउँदो बालकलाई जिउँदै उद्धार गर्न सकिएन’, एसपी पोखरेलले उज्यालो अभियानसँग भने, ‘घटनाको फ्लोअप गरेर अभियुक्तहरु समातिएपनि स्वयं बालकलाई जिउँदै सकुशल उद्धार गरेर अभिभावकको जिम्मा लगाउन नपाउँदा चाँही साह्रै पछुतो लागिरहेको छ ।’ घटना अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डीएसपी) माधव प्रसाद बुढाथोकी, प्रहरी निरीक्षकद्वय कृष्ण गिरी र जटाशंकर यादव तथा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापा मुख्य गरी दिनरात खटिएका थिए । त्यस्तै जिल्ला प्रहरी कार्यालय मलंगवाका अपराध अनुसन्धान शाखाका प्रहरी नायब निरीक्षक, प्रहरी सहायक निरीक्षक, हबल्दार तथा जवानहरु समेत अनुसन्धान कार्यमा परिचालित थिए । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुको सकृयता अनि प्रभावकारी साथ सहयोगले बालक अपहरण तथा हत्या घटनाका अभियुक्तहरु सम्म चाँडै पुग्न सकिएको एसपी पोखरेल बताउँछन् ।