logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

संचार मन्त्री साहले भने-पत्रकारितामा हुबहु समाचार ´चोर्ने` विकृति माैलायाे


  • उज्यालो अभियान

कार्यक्रममा उपस्थित मन्त्री भरत प्रसाद महताे (बीचमा) सहित अतिथिहरु । (तस्बिर : सामाजिक संजाल)

लालबन्दी – मधेश प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पत्रकारिता क्षेत्रमा समाचारजन्य सामग्री हुबहु चाेर्ने विकृति माैलाएकाे गुनासाे गरेका छन् ।

आमसंचार प्राधिकरण मधेश प्रदेश जनकपुरधामले आइतबार लालबन्दीमा आयोजना गरेको पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि मस्यौदा उपर अन्तरक्रिय कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री साहले त्यस्ताे गुनासाे गरेका हुन् । ´र` ´कमा` समेत नछुटाईकन धेरै अनलाईनहरुमा हुबहु समाचार प्रकाशन भईरहेकाे देखिन्छ`, मन्त्री साहले भने,´पत्रकारिता क्षेत्रमा बढ्दै गइरहेको कपी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ ।` हरेकजसो अनलाईन सञ्चारमाध्यमहरुमा कपी गरेर हुबहु समाचार राख्ने गरिएको भन्दै यसबाट पाठक बर्ग पठनिय र फरकखालका विषयवस्तु पाउनबाट बञ्चित भइरहेको तर्क गरे । मन्त्री साहले पत्रकारहरुको क्षमतालाई वृद्धि गरी समाचार चोरी गर्ने प्रवृत्तिलाई रोक्नुपर्नेमा जोड दिए ।

उनले प्रदेश सरकारको तर्फबाट स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापन व्यवस्थापन कार्यविधि मस्यौदा अन्तिम चरणमा पुर्याइसकेको उल्लेख गरे । मस्यौदामाथि सकारात्मक राय सुझाव दिन उनले सञ्चारकर्मीहरुसँग आग्रह समेत गरेका छन् ।

मन्त्री साहले नजिकिँदै गरेको निर्वाचनमा कुनै पनि दल वा उम्मेदवारको प्रभावमा नपरी निष्पक्ष किसिमले कलम चलाउन पत्रकारहरुसँग आग्रह गरेका छन् । पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा मात्रै नभइ जीवन बीमा गर्न समेत प्रदेश सरकार तयार रहेको मन्त्री साहको भनाई छ ।

लालबन्दीकाे युनाईटेड हाेटलमा आयाेजित अन्तरक्रियामा आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले पत्रकारहरुको स्वास्थ्य र दुर्घटना बीमा तथा लोककल्याणकारी विज्ञापन व्यवस्थापन सम्वन्धि कार्यविधि–२०७८ प्रस्तावित मस्यौदा प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागीहरुले भने मस्यौदामाथि आ-आफ्नो राय सुझाव व्यक्त गरे ।

कार्यक्रममा मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराई, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिब दिपेन्द्र चाैहान, मधेश प्रदेश अन्तर्गत ८ वटै जिल्लाका महासंघका पदाधिकारी सहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो । मधेस प्रदेश सरकारले आमसंचार प्राधिकरण मार्फत पत्रकारहरुका लागि मधेश प्रदेश भित्र क्रियाशिल पत्रकारहरुका लागि १ लाख रुपैयाँसम्मको औषधि उपचार बीमा र ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा गर्ने तयारी गरिरहेको छ ।

आम संचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादवले सराेकारवाला पक्षबाट आएका सुझावलाई समेट्दै यथाशिघ्र स्वास्थ्य एवं दुर्घटना बीमा र लाेककल्याणकारी विज्ञापन व्यबस्थापन सम्बन्धि कार्यविधि कार्यान्वयनमा ल्याईने जानकारी दिए ।

फोटो क्याप्सन : कार्यक्रममा मन्तव्य राख्दै आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साह । (तस्बीर : उज्यालो अभियान)