बरामद् लागूऔषधको रुपमा प्रयोग हुने कोरेक्सका बोतल एवं सीमा प्रहरी चौकी बलराका प्रमुख प्रहरी नायब निरीक्षक भवन सिंह भण्डारी ।
बलरा – सीमा प्रहरी चौकी बलराको टोलीले लागूऔषधको रुपमा प्रयोग हुने कोरेक्स बरामद् गरेको छ ।
भारतबाट भगवानपुर नाका हुँदै साईकलमा बोराभित्र राखेर नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा सीमा प्रहरी चौकी बलराका प्रमुख प्रहरी नायब निरीक्षक भवन सिंह भण्डारी नेतृत्वको टोलीले विहिबार दिउँसो १०० एमएल दरका १३० बोतल कोरेक्स बरामद् गरेको हो । प्रहरी टोलीलाई देख्ने बितिकै साईकल चालक भने बोरा फालेर भारततर्फै भागेका छन् । प्रहरी टोलीले बोरा खोलेर हेर्दा १३० बोतल कोरेक्स फेला पारेको हो ।
भारतीय बजारमा सहजै किनबेच हुने कोरेक्स, नाईट्राभेट ट्याब्लेट, डाईलेक्स डीसी, प्रोक्सिभान जस्ता औषधीहरु नेपालमा भने प्रतिबन्धित छन् । लागूऔषधको रुपमा प्रयोग हुने हुँदा त्यस्ता औषधीहरु नेपालमा प्रतिबन्ध गरिएपनि खुला सिमानाका कारण भारतबाट उल्लेख्य रुपमा भित्रिने गरेको छ ।