मलंगवा अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका भारतीय नागरिक ईन्दल महतो ।
मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा गाेली लागेका युवककाे मृत्यु भएकाे छ । मृतक युवक भारतीय फरार अभियुक्त भएकाे समेत खुलेकाे छ ।
मृतक भारतकाे कनाैली नाका अन्तर्गत विशनपुर गाउँ निवासी करिब ३५ वर्षीय ईन्दल महताे रहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । भारतकाे उक्त गाउँ मलंगवाबाट ७ किलाेमिटर दक्षीण पर्ने जिल्ला प्रहरी कार्यालय मलंगवा स्राेतले जनायाे ।
मृतक महताे भारतमा अपराध गरि फरार अभियुक्तकाे सूचीमा रहेका थिए । उनकाे सदरमुकाम मलंगवामा ससुरालीमा रहेकाे र विगत ६ महिनादेखि मलंगवातिरै लुकेर बसेकाे प्रारम्भिक विवरणहरु प्राप्त भएकाे प्रहरी स्राेतले जनाएकाे छ ।
बुधबार साँझ ७ बजेतिर एक्लै माेटरसाईकलमा हिँडिरहेका महताेलाई मलंगवा नगरपालिका-९ रिङराेड नजिकै एउटै माेटरसाईकलमा चढेर आएकाे तिनजनाकाे समूहले गाेली प्रहार गरेकाे थियाे । कृष्णामति माविकाे पूर्वी कम्पाउण्ड र रिङराेड भित्र महताेमाथि गाेली प्रहार भएकाे स्थानीय प्रत्यदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएकाे छ ।
घाईतेकाे दाहिने पाखुरा, बायाँ कुहिना र दायाँ काेखामा चाेट देखिएपनि गाेली नै कति ठाउँमा लागेकाे भन्ने एकिन विवरणचाँही पाेष्टमार्टम रिपाेर्टपछि मात्र भन्न सकिने जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।
गाेली लागेर सख्त घाईते भएका महताेलाई सशस्त्र प्रहरी बेस क्याम्प मलंगवाकाे टाेलीले तत्काल उद्दार गरि प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगेकाे थियाे । ´गाेलीकाे आवाज आउनु र हाम्राे टाेली घटनास्थलमा तत्कालै पुगिहाल्याे`, सशस्त्र प्रहरीका एक अधिकृतले उज्यालाे अभियानसँग भने, ´गाेली हान्ने समूह खाेज्ने भन्दापनि घाईतेकाे उद्दार गर्ने कार्यलाई टाेलीले प्राथमिकतामा राख्याे ।`
सशस्त्र प्रहरीकाे टाेलीले तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याए पनि चिकित्सकले भने मृत्त घाेषणा गरेकाे जिल्ला प्रहरी कार्यालय मलंगवा स्राेतले जनायाे । घटनाबारे अनुसन्धान भईरहेकाे उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले विस्तृतमा जानकारी आउन केही ढिलाई हुने जानकारी दिए ।
फाेटाे क्याप्सन : मलंगवा अस्पतालमा उपचाररत अवस्थामा मृत्यु भएका भारतीय नागरिक ईन्दल महताे । (तस्बिर : उज्यालाे अभियान)