फाइल तस्बीर ।
मलंगवा – आगामी स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा चार लाख ७४ हजार भन्दा बढी मतदाता नामावली कायम भएको छ ।
जिल्ला निर्वाचन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार आउँदो बैशाख ३० मा हुने निर्वाचनका लागि सर्लाहीमा चार लाख ७४ हजार ४३९ मतदाताको अन्तिम नामावली कायम भएको हो । जसमा दुई लाख ५७ हजार १३८ जना पुरुष, दुई लाख १७ हजार २९२ जना महिला र नौ जना तेस्रो लिंगी मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
२०७४ सालको निर्वाचनमा सर्लाहीभर कूल मतदाताको संख्या तीन लाख ६६ हजार ६०५ रहेको थियो । अहिले एक लाख सात हजार ८३४ जना मतदाता थपिएका छन् ।
यस्तै, बैशाख ३० को निर्वाचनका लागि सर्लाहीमा ३१८ वटा मतदान स्थल र ५९९ वटा मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दीवाकर भुजेलले जानकारी दिए । मतदान स्थल पहिला पनि ३१८ वटै रहेको थियो । मतदान केन्द्र भने ५१८ बाट थपेर ५९९ पु¥याइएको निर्वाचन कार्यालयका प्रमुख भुजेलले बताएका छन् ।
मतदाता बढेको आधारमा मतदान केन्द्र थपिएको कार्यालय प्रमुख भुजेलको भनाई छ । यसैगरी, स्थानीय तह निर्वाचनका लागि सर्लाहीमा राष्ट्रिय मान्यता प्राप्त छवटा र अन्य २९ वटा गरी ३५ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् ।
फोटो क्याप्सन : केही समयअघि मतदाता नामावली संकलनका लागि फाेटाे खिचाउँदै सर्बसाधारण । (फाइल तस्बीर)