चन्द्रनगर – जनमत पार्टीका केन्द्रीय अध्यक्ष सिके राउतले सर्लाहीका ४ वटा पालिकामा मंगलबार ´जनमत माटो यात्रा` अभियान अन्तर्गत नेता कार्यकर्तासँग भेटघाट तथा छलफल कार्यक्रम गरेका छन् ।
आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी संचालन गरेको जनमत माटो यात्रा लिएर पार्टीका केन्द्रीय अध्यक्ष राउत सर्लाही आएका हुन् । राउतले मंगलबार जिल्लाको दक्षिण-पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका तथा ब्रम्हपुरी, पर्सा र चन्द्रनगर गाउँपालिकाका विभिन्न वडाहरुमा पुगी आफ्नो कार्यकर्ता तथा शुभेच्छुकहरुसँग भेटघाट सहित संक्षिप्त सम्बाेधन समेत गरेका हुन् ।
राष्ट्रिय अध्यक्ष राउतसँगै पार्टीका जिल्ला अध्यक्ष जवाहार राय यादव, जिल्ला काेषाध्यक्ष वीरेन्द्र साह लगायत जिल्लाका नेताहरुकाे सहभागिता थियाे । हुलाकी राजमार्ग हुँदै पूर्वी नाका संग्रामपुरबाट मंगलबार मध्यान्ह सर्लाही प्रवेश गरेका राउत पर्सा, ब्रम्हपुरी र चन्द्रनगर गाउँपालिका हुँदै हरिपूर्वा नगरपालिकाका विभिन्न स्थानमा जनमत माटाे यात्रा गर्दै साँझ महाेत्तरीतर्फै फर्किएका जनमत पार्टीका जिल्ला काेषाध्यक्ष वीरेन्द्र साहले जानकारी दिए । साहका अनुसार बाँकी पालिकाहरुमा पनि केही दिनपछि केन्द्रीय अध्यक्ष राउतकाे प्रमुख आतिथ्यतामा जनमत माटाे यात्रा कार्यक्रम गरिने छ ।
जनमत पार्टीले आगामी स्थानीय तह निर्वाचनमा आफ्नो पक्षमा मत तान्न जनमत माटो यात्रा नामक पृथक चुनावी अभियान संचालन गरेको हो । जिल्लाको उत्तरी भेगमा खासै संगठन विस्तार नभएपनि सो पार्टीले दक्षिणी भेगमा भने उल्लेख्य ढंगले संगठन विस्तार गर्दै गइरहेको छ ।