हरिवन – नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिको सोमबार सम्पन्न बैठकले विभिन्न विभाग प्रमुख एवं जिम्मेवारी बाँडफाँड गरेको छ ।
प्रदेश सभापति कृष्णा यादवको अध्यक्षतामा बसेको बैठकले सर्लाहीका ४ जना कांग्रेस नेताहरुलाई थप जिम्मेवारी दिएको छ । प्रदेश सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका प्रदेश उपसभापति धनकौल निवासी वीरेन्द्र प्रसाद सिंहले संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् । त्यस्तै प्रदेश समिति सदस्य ईश्वरपुरका रामबाबु साहलाई उम्मेद्वार छनोटमा मुख्य भूमिका निर्वाह हुने संसदीय समितिको सदस्यमा मनोनित गरिएको छ भने कार्यसम्पादन समिति सदस्यमा प्रदेश समिति सदस्यद्वय लालबन्दीकी शर्मिला थापा र कौडेनाकी जसोदा कुमारीलाई मनोनित गरिएको छ । केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र लगायत तहका कार्यसमितिमा निर्वाचित र मनोनित गरेर निकै ठूलो संख्या हुने भएकाले तत्काल पार्टीको निर्णयहरु गर्नका लागि नेपाली कांग्रेसले सबै तहमा कार्यसम्पादन समिति गठन गर्ने गरेको छ ।
केही समयअघि सम्पन्न निर्वाचनबाट मधेश प्रदेश समितिमा सर्लाहीका वीरेन्द्र प्रसाद सिंह उपसभापति तथा खुलाबाट रामबाबु साह, दलितबाट मदन विश्वकर्मा, थारुबाट उदयनारायण चौधरी तथा भूगोलबाट धर्मलाल राय र जसोदा कुमारी गरि ६ जना विजयी भएका थिए । त्यस्तै सर्लाही लालबन्दीका ध्रुव रिजाल र शर्मिला थापा तथा हरिवनकी सोनीकुमार बम्जनलाई प्रदेश सभापति कृष्णा यादवले प्रदेश कार्यसमिति सदस्यमा मनोनित गरेका थिए । हालसम्म कांग्रेसको मधेश प्रदेश कार्यसमितिमा सर्लाहीबाट निर्वाचित, मनोनित र पदेनतर्फ जिल्ला सभापति, निर्वाचित प्रदेश सभा सदस्य गरेर ११ जनाको प्रतिनिधित्व भएको छ ।