
मलंगवा – स्थानीय तह निर्वाचनमा खट्न म्यादी प्रहरीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवामा आवेदन दिएका १० हजार ५६५ जनामध्ये लिखित परीक्षासम्म आईपुग्दा आधाभन्दा निकै कममात्र उत्तीर्ण भएका छन् ।
साेमबार बिहान जिल्ला प्रहरी कार्यालयले प्रकाशित गरेकाे लिखित परीक्षाकाे नतिजा अनुसार तीनहजार ७८२ जना उत्तीर्ण भएका छन् । जसमा पुरुषतर्फ तीनहजार १६० र महिलातर्फ ६२२ जना भएका हुन् । लिखित परीक्षामा चारहजार ८६ पुरुष र ६७८ महिला सहभागी थिए ।

म्यादी प्रहरीका लागि आवेदन दिएका ९४६ महिला सहित १० हजार ५६५ मध्ये स्वास्थ्य परीक्षण तथा शारिरिक तन्दुरुस्तीमा आधाभन्दा बढी पाँचहजार ८०१ जना फेल भएका थिए । जिल्ला प्रहरी कार्यालय मलंगवाले स्थानीय तह निर्वाचन २०७९ का लागि सर्लाहीमा तीनहजार ८८ जना म्यादी प्रहरी छनाैट गर्नेछ । जिल्ला प्रहरी कार्यालय मलंगवाले म्यादी प्रहरी छनाैट गर्नका लागि नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षा अधिकृत समेत रहेकाे छनाैट उपसमिति गठन गरेकाे र साेही उपसमितिले छनाैटकाे काम गरिरहेकाे उपसमिति सदस्य कृष्ण गिरीले जानकारी दिए ।

फाेटाे क्याप्सन : म्यादी प्रहरी छनाैटका लागि सदरमुकाम मलंगवा स्थित कभर्डहलमा शारिरिक तन्दुरुस्ती चेकजाँच गर्दै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी । (तस्बिर : उज्यालाे अभियान)