logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीकाे जानकीनगर साझेदारी वनमा व्यापक फँडानी, सम्बन्धित निकाय उदासिन्


  • उज्यालो अभियान

जानकीनगर साझेदारी वन क्षेत्रमा कटान भएको सालको रुखको ठुटाहरु । (तस्बिर : उज्यालो अभियान)

टंक बहादुर क्षेत्री/जानकीनगर – सर्लाहीको जानकीनगर साझेदारी वन क्षेत्रमा अवैध रुपले व्यापक वन फँडानी हुन थालेकाे छ । हरिपुर नगरपालिका-१ र हरिवन नगरपालिका-६ मा पर्ने जानकीनगर साझेदारी वन क्षेत्रबाट सालका ठूला-ठूला अनि उम्दा रुखहरु कटान गरि चाेरी तस्करी भएकाे हाे ।

सव डिभिजन वन कार्यालय जानकीनगरकाे नाकैबाट सालका ´बडेमान`का टुना मात्र हैन दाउराकाे बहानामा स-साना रुखहरु समेत कटान भई चाेरी तस्करी हुने गरेकाे छ । दिन दहाडै सालका रुख कटान भई अवैध चाेरी तस्करी हुनुले वन कार्यालयका कर्मचारी र साझेदारी वन उपभाेक्ता समितीका पदाधिकारीहरुकाे समेत काठ तस्करहरुसँग मिलेमताे छ भनेर जाे कसैले पनि निर्धक्कसँग आराेप लगाउने अवस्था छर्लंग छ ।

हरिवन-६, घुर्कौलीबाट दक्षीण र हरिपुर-१, जानकीनगर उत्तर १२ सय हेक्टर क्षेत्रफलमा फैलिएको घना जंगल भएकाले एकादुई जाे काेही सर्बसाधारण वन क्षेत्रभित्र सहजै घुमेर अवलाेकन गर्न सक्ने अवस्था छैन । त्यस्ताे अवस्थाकाे फाईदा काठ तस्करहरुले भने भरपुर उठाईरहेका छन् । काठ तस्करहरुकाे चाहना अनुसार ´देख्या नदेख्यै` गरेर वनका कर्मचारी र समितिका पदाधिकारीकाे गैर जिम्मेवारपन अनि उदासिनताले अवैध फँडानीका लागि भरपुर मलजल गरेकाेमा दुईमत छैन । वन क्षेत्रभित्र जताततै सालका रुखहरु कटान भएकाे देखिन्छ । काठ तस्करहरुले अन्धाधुन्ध कटान गरेका कारण ठूला-ठूला अनि उम्दा सालका कि फेदका ठुटाहरु कि त दाउराका लागि स्थानीय बासिन्दाले लान बाँकी रहेकाे हाँगाबिँगा मात्र देखिन्छ ।

काठ तस्करहरुले दिनदहाडै ट्याक्टरमा लोड गरेर सालका टुना ओसारपसार गर्ने गरेकाे स्थानीय बासिन्दा बताउँछन् । अवैध वन फँडानी गर्दै सालका काठ तस्करीमा वन क्षेत्र आसपास घुर्काैली र जानकीनगरकै राजनैतिक नेता कार्यकर्ता अनि उनीहरुद्वारा संरक्षण प्राप्त ´ट्याबे कुण्डले मुण्डले हरुकाे संलग्नता रहेकाले वास्तविक साेझासाझा उपभाेक्ता विराेधमा खुल्न सक्ने अवस्था देखिँदैन । ´अवैध वन फँडानी गर्न दर्जनाैं स्थानीय युवाहरु दिनदहाडै जंगलभित्र माेटरसाईकलमा छिर्छन्`, एक स्थानीय बासिन्दाले उज्यालाे अभियानसँग भने, ´राजनैतिक दलका नेता समेत र उनीहरुकै संरक्षणमा रहेका युवाहरुकाे संलग्नतामा सालका ठूला-ठूला अनि उम्दा रुखहरु ढालेर टुना बनाईन्छ र ट्याक्टरमा लाेड गरेर निर्धक्कसँग तस्करी हुने गरेकाे छ ।`

केही दिनअघि मात्र सशस्त्र प्रहरी बल हरिवन बेसक्याम्पकाे टाेलीले ट्याक्टरमा ओसार्दै गरेकाे अवस्थामा र वन क्षेत्रमै लुकाएर राखेकाे अवस्थामा छुट्टाछुट्टै सालका ´भिमकाय` टुना बरामद् गर्नुले ती स्थानीयकाे भनाईलाई सही सावित मात्र गर्दैन, वन कार्यालयका कर्मचारी र उपभाेक्ता समितीका पदाधिकारीहरुकाे अवैध वन फँडानीका लागि मिलेमताे देखिने गरि गैरजिम्मेवारपन अनि उदासिनता स्पष्ट झल्किन्छ । स्थानीयका अनुसार ट्याक्टर मात्र हैन टायरगाडा र साईकलमा समेत सालका टुना व्यापक मात्रामा ओसारिन्छन् । पहाडी वा हिमाली क्षेत्र जस्ताे कठिन भाैगाेलिक अवस्था नभई तराई जस्ताे समथल सहज अवस्था भएकाले वनका कर्मचारी र साझेदारी वन उपभाेक्ता समितीका पदाधिकारीहरुको ´ग्रिन सिग्नल` बिना जानकीनगर वन क्षेत्रबाट अवैध वन फँडानी गर्दै काठ तस्करी सम्भव नभएकाे वन क्षेत्रमा क्रियाशिल एक अभियन्ताले बताए ।

याे पनि पढ्नाेस्
सशस्त्रद्वारा ´बडेमान`काे सालकाे टुना बरामद्

जानकीनगर साझेदारी वन क्षेत्रमा अवैध रुख कटानी राेक्नका लागि हदैसम्मकाे प्रयास भईरहेकाे र अवैध वन फँडानी गरेकाे फेला परे कार्बाही समेत गर्ने गरिएकाे उक्त साझेदारी वन उपभाेक्ता समितीका अध्यक्ष रामविश्वास राय दाबी गर्छन् । ´यसअघि प्रदेश सरकारकाे वन मन्त्रालयबाट प्राप्त बजेटबाट ९ जना हेरालु राखिएकाे थियाे`, अध्यक्ष रायले भने, ´तर यस आर्थिक बर्षमा मन्त्रालयले बजेट दिन रोकेपछि आर्थिक अभावका कारण हेरालु घटाएर आफ्नै श्रोत साधनबाट ३ जना मात्र हेरालु राखेका छाैं, त्यती संख्या पर्याप्त नभएका कारण वन क्षेत्रकाे निगरानीमा पक्कै कमी आएकाे छ, जसले गर्दा पछिल्लो समय काठ चोरी तस्करी बढेको हुन सक्छ ।` स्थानीय बासिन्दा सहित सराेकारवाला सबै पक्ष, तहर तप्काकाे सहयाेग र समन्वय बिना उपभाेक्ता समितीका पदाधिकारीहरुले मात्र वन क्षेत्रकाे संरक्षण गर्न नसक्ने अध्यक्ष रायकाे भनाई छ ।

सब डिभिजन वन कार्यालय जानकीनगरका प्रमुख सहायक वन अधिकृत सुवास साहले कर्मचारी अभावका कारण जानकीनगर साझेदारी वन क्षेत्रमा प्रभावकारी ठंगले गस्ति अनि कार्बाही अभियान चलाउन नसकिएको गुनासाे गरे । सब डिभिजन वन कार्यालय जानकिनगरमा ८ जना कर्मचारी रहेकाे र जसमध्ये तीनजना चुरे क्षेत्रका लागि तथा पाँचजना मात्र महेन्द्र राजमार्ग भन्दा तल जानकीनगर साझेदारी सहितको वन क्षेत्रमा खटिनु पर्ने भएकाले जनशक्ति अभावका कारण अवैध वन फँडानी राेक्न कठिनाई भईरहेकाे साहकाे गुनासाे छ । पर्याप्त जनशक्ति सहित आवश्यक हतियार, जीप लगायत स्राेतसाधन समेत नहुँदा जिम्मेवारी अनुसार काम गर्न कठीनाई महसुस भईरहेकाे साहले गुनासाे गरे । वनका कर्मचारी भन्दा शक्तिशाली अनि अत्याधुनिक हतियार र सबारीसाधनयुक्त तस्करहरुकाे समूह हुँदा अवैध वन फँडानी कुनैपनि हालतमा राेक्न सक्ने अवस्था नरहेकाे वन कार्यालयका एक कर्मचारी बताउँछन् ।

डिभिजन वन कार्यालय लालबन्दीका प्रमुख सन्तोष कुमार झाले वन क्षेत्रमा निरन्तर गस्ती भईरहेकाे दावी गरे । ´म आफैपनि नियमित गस्तिमा गइरहेको छु`, डिभिजन वन प्रमुख झाले भने, ´अवैध कटान र ओसारपसार गर्नेहरुमाथि कार्बाही समेत गरिरहेका छाैं ।` जानकीनगर वन क्षेत्रमा आसपासका मानिसहरु अवैध काठ कटानी अनि तस्करीका लागि सल्बलाई रहेकाे र उक्त कार्य नियन्त्रण गर्ने प्रयासमा आफूहरु लागिपरेकाे डिभिजन वन अधिकृत झाले दाबी गरे ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले अवैध रुपमा वन फँडानी भईरहेकाे गुनासाे आएकाे र त्यस्ता गलत कार्य नियन्त्रणका लागि सम्बन्धित कार्यालयका प्रमुख सहित कर्मचारीहरुलाई सचेत गराईने जानकारी दिए । ´पछिल्लाे समय वन क्षेत्रमा अवैध फँडानी भईरहेकाे गुनासाे बढिरहेकाे छ`, प्रजिअ गाैतमले भने,´यश विषयमा गम्भीर ढंगले लाग्न म डीएफओ साब लगायत सराेकारवाला पक्षहरु सँग कुरा गर्छु ।`

फाेटाे क्याप्सन : जानकीनगर वन क्षेत्रमा अवैध रुपमा कटान भएकाे सालका रुखहरुकाे ठुटा (फेद) हरु र लडाईएकाे रुख । (तस्बिर : उज्यालाे अभियान)

(उज्यालाे अभियान मिडिया नेटवर्क प्रालिका सञ्चालक सदस्य समेत रहेका पत्रकार घनश्याम बलम्पाकीकाे सहयाेगमा)