logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कौडेनामा प्रेसर कुकर र साईकल बाँड्दै वडाध्यक्ष


  • उज्यालो अभियान

वडाका वासिन्दालाई प्रेसर कुकर प्रदान गर्दै कौडेना गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष किशोरी राय । (तस्बिर : उज्यालो अभियान)

कौडेना – सर्लाहीको दक्षिणी भारतीय सिमा क्षेत्रसँग जोडिएको कौडेना गाउँपालिकाका एक वडाध्यक्षले वडाका वासिन्दालाई खाना पकाउने प्रेसर कुकर वितरण सूरु गरेका छन् ।

कौडेना गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष किशोरी रायले वडाका सबै परिवारलाई प्रति परिवार एक–एक थान पाँच लिटर क्षमताको प्रेसर कुकर वितरण सूरु गरेका हुन् । ‘अहिलेसम्म २०० वटा प्रेसर कुकर बाँडिसकेँ, अझै २०० वटा बाँड्दैछु’, शुक्रबार बिहान उज्यालो अभियानसँग कुरा गर्दै वडाध्यक्ष रायले भने, ‘वडा भरीका सबै परिवारलाई सीजी कम्पनीको ५ लिटरको प्रेसर कुकर दिने हो ।’ १० लाख रुपैंया बजेटमा प्रेसर कुकर खरिद गरेर वितरण सूरु गरिएको वडाध्यक्ष रायले जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारले बेटी पढाउ, बेटी बचाउ अभियान अन्तर्गत कक्षा ९ का छात्राहरुले मात्र साईकल पाएकाले आफूले वडा कार्यालयबाट १० लाख रुपैंया बजेट छुट्टयाएर वडा भित्रका कक्षा ६, ७, ८ र १० कक्षामा पढिरहेका १५० जना छात्रालाई साईकल समेत वितरण गर्ने तयारी गरिरहेको वडाध्यक्ष रायले उज्यालो अभियानलाई बताए । ‘अब केही दिनभित्रै साईकल आउँदैछ, प्रदेश सरकारले दिएका बाहेक छात्रालाई वडा कार्यालयको तर्फबाट साईकल बाँडिने छ ।’ वडाध्यक्ष रायले भने । त्यस्तै केही समयअघि १० लाख रुपैंया बजेटमै वडा भरिका परिवारलाई गहुँको विउ वितरण गरिसकिएको वडाध्यक्ष रायले दाबी गरे । ‘हरेक परिवारलाई १–१ बोरा गहुँको विउ पनि वितरण गरिसकेको छु ।’ उनले भने ।