बरहथवा – उपराष्ट्रपति नन्दबहादुर पुनले दश वर्षे जनयुद्धका कारण देशमा अहिलेको परिवर्तन आएको बताएका छन् ।
बिहीबार सर्लाहीको बरहथवा नगरपालिकास्थित हजरियामा आयोजित जनयुद्धका शहीद तथा मृतकको परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै उनले शहीदको बलिदान, बेपत्ता योद्धा, घाइते तथा अपाङ्गहरुको त्यागबाट देशमा गणतन्त्र, संघीयता, समानुपातिक समावेशितासहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताएका हुन् । ´देशले नयाँ संविधान पाएको छ, यो हामी सबै नेपालीका लागि ज्यादै गौरवको कुरा हो`, उपराष्ट्रपति पुनले भने, ´यि सबै परिवर्तनको श्रेय महान शहीद, शहीद परिवार, बेपत्ता तथा अपाङ्ग योद्धाहरुलाई नै जान्छ ।
शहीदका सपना पूरा गर्नु बाँचेका सबै तथा तीनै तहका सरकार र राज्यको दायित्व भएको उपराष्ट्रपति पुनको भनाई छ । मधेस सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेसी शहीद प्रतिष्ठानले सर्लाही जिल्लाका जनयुद्धका शहीद तथा मृतकको परिवारलाई सम्मान गरेकोप्रति उनले प्रशंसा गर्दै धन्यवाद समेत ज्ञापन गरेका छन् ।
मधेस प्रदेश सरकारले जनयुद्ध तथा मधेस आन्दोलनको मर्मअनुसार मधेस प्रदेशको नामाकरण गर्न सफल भएको भन्दै उपराष्ट्रपति पुनले बधाई दिए । उनले मधेस सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बचाउ’, छोरी बीमालगायत लोकप्रिय कार्यक्रम गरेर नयाँ काम गरिरहेको उल्लेख गरेका छन् ।
उपराष्ट्रपति पुनले देशमा अहिलेसम्मका परिवर्तनका बाबजुत सुशासन, पारदर्शीता, जनताका आर्थिक, सामाजिक जीवनमा परिवर्तन गर्न थुप्रै काम गर्नुपर्ने र थुप्रै चूनौतिहरुको सामना गर्नुपर्ने अवस्था रहेको बताए । ´गरिबी उन्मुलन, शिक्षा, स्वास्थ्यमा सबैको सहज पहुँच, आवास, भौतिक पूर्वाधार निर्माण, भूमिको उचित व्यवस्थापनजस्ता थुप्रै काम जनताको हित अनुरुप गर्नुपर्ने देखिन्छ`, उपराष्ट्रपति पुनले कार्यक्रममा भने ।
बालविवाह, दाईजो प्रथा, अन्धविश्वास, कु-रीति, कु-संस्कारजस्ता समस्या मधेसको विकासमा बाधा बनिरहेको उपराष्ट्रपति पुनले बताए । यि समस्या समाधानका लागि यहाँको सरकार, जनप्रतिनिधि, कर्मचारी, सुरक्षा निकाय, सङ्घसंस्था, समाजजसेवी, वुद्धिजिवी सबै एकतावद्ध भएर लाग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
उपराष्ट्रपति पुनले जनयुद्धले सबै क्षेत्रमा उथलपुथल ल्याएको र जनतालाई राजनीतिक रुपमा सचेत अनि आफ्नो अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्न प्रेरणा मिलेको बताए । शान्ति सम्झौता, नयाँ संविधान निर्माण र त्यसको पूर्ण कार्यान्वयन जनयुद्धकै मार्गदर्शनमा भएको उनको भनाई छ ।
बृहद् शान्ति सम्झौताको १५ वर्ष भइसकेपनि त्यसलाई अझै निष्कर्षमा पुर्याउन नसकिएको भन्दै यसप्रति उनले सरकारको ध्यानाकर्षण गराए । संविधान सभाबाट संविधान निर्माण र सेना समायोजनलगायतका शान्ति सम्झौताका थुप्रै काम भएपनि सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगले सक्नुपर्ने काम अझै बाँकी रहेकाले यि कामहरुलाई चाँडो टुंग्याउन उनले आग्रह गरेका छन् ।
कार्यक्रममा उपराष्ट्रपति पुनले मधेस सरकारको मधेसी शहीद प्रतिष्ठानले सर्लाहीका ६१ जना जनयुद्धका शहीद तथा मृतकको परिवारलाई एक लाख रुपैयाँ नगद र सम्मान पत्रबाट सम्मान गरेका छन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले मधेस प्रदेशका आठ जिल्लामध्ये अब रौतहट र सिरहा जिल्लाका जनयुद्धका शहीद तथा मृतकका परिवारलाई सम्मान गर्न बाँकी रहेको र ती दुई जिल्लामा पनि चाँडै सम्मान कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
मधेश प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिब रामकुमार महताेकाे संचालन रहेकाे कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता प्रल्लाद बुढाथाेकी, संघीय सांसद् एवं पूर्व मन्त्री रामेश्वर राय यादव, बरहथवा नगरपालिकाका मेयर देवानन्द महताे, उपमेयर सीता देवी माझी, प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतम, सशस्त्र प्रहरी बल मधेश प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश बहादुर ठाडा मगर, आमसंचार प्राधिकरणका अध्यक्ष श्याम सुन्दर यादव, मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई, बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापा, माओवादी नेता राजकुमार यादव, महिला नेतृ विनिता दाहाल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
फोटो क्याप्सन : हजरियामा जनयुद्धका शहीद परिवारलाई सम्मान गर्दै उपराष्ट्रपति नन्दबहादुर पुन । (तस्बीर : उज्यालो अभियान)