आईतबार दिउँसो बयलवास बजारमा विरोध प्रदर्शन गर्दै जसपाका नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)
बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, स्थित बयलवास बजारमा शनिबार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा)ं ले आईतबार दिउँसो विरोध प्रदर्शन गरेको छ ।
सो पार्टीले आफ्ना नेता प्रमोद साहमाथि भएको आक्रमणको घटनामा विरोध जनाउँदै बयलवास बजार क्षेत्रमा विरोध जुलुस निकालेको हो । प्रदर्शनमा पार्टीका जिल्ला अध्यक्ष वीरेन्द्र राय, संघीय सांसद रुहिनाज मिकरानी, प्रदेश सांसद अशोक यादव र संजय यादव, जिल्ला उपाध्यक्ष गणेश यादव लगायत सहभागी रहेको जसपाका जिल्ला सहसचिव एवं चन्द्रनगर गाउँपालिका ५ का वडाध्यक्ष नन्दलाल रायले जानकारी दिए । उद्योग वाणिज्य संघको कार्यालय अगाडिबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै सिनेमा हल चौकमा आएर कोण सभामा परिणत भएको थियो । जसपाको प्रदर्शनलाई मध्यनजर गर्दै बयलवास बजार क्षेत्रमा आईतबार दिनभर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
बयलवास बजारमा शनिबार बिहान फुलजोर युवा क्लबको भवन निर्माण र सडकको नाला बनाउने विषयमा दुई पक्षबीच झडप हुँदा जसपाका प्रमुख सचेतक एवं सर्लाही क्षेत्र नं. १ का संघीय सांसद प्रमोद साह घाईते भएका थिए । घाइते सांसद साहलाई शनिबार हेलिकप्टरबाट उपचारका लागि काठमाडौं पुर्याइएको छ । टाउकोमा चोट लागेका साहको मेडिसिटी अस्पताल ललितपुरमा उपचार चलिरहेको छ ।
जसपा सर्लाहीले शनिबार नै एक विज्ञप्ती निकालेर सांसद साहमाथि नेकपा एमालेका कार्यकर्ताले सुनियोजित रुपमा सांघातिक आक्रमण गरेको आरोप लगाएको छ । यसैबीच, नेकपा एमाले सर्लाहीले आईतबार प्रेस विज्ञप्ती जारी गर्दै बयलवास घटना सांसद प्रमोद साहकै कारण भएकोे आरोप लगाएको छ । एमाले जिल्ला अध्यक्ष राजनारायण साहले विज्ञप्ती निकाल्दै सांसद साह बाँसका भाटाहरुसहित ठूलो संख्यामा मानिसहरु लिएर नगरपालिकाको पुरानो भवन तथा अहिलेको वडा नं. ६ को वडा कार्यालय तथा नगरप्रमुखको गाडीमा तोडफोड गर्न पुग्दा जनताले प्रतिकार गर्दा उक्त घटना भएको दाबी गरेका छन् ।