logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

पुलबाट बस खसेकाे दुर्घटना : एक महिला सहित दुईजना मृतककाे पहिचान खुल्याे


  • उज्यालो अभियान

सर्लाहीको लालबन्दी र ईश्वरपुर नगरपालिकाको सिमा फुलजोर खोलाको पुलबाट तल खसेको बस । (तस्बिर : उज्यालो अभियान)

फुलजाेर – पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाही स्थित फूलजोर पुलबाट बस खस्दा मृत्यु भएका चारजनामध्ये दुई जना यात्रुको सनाखत भएको छ ।

मृतकमध्ये सिन्धुलीको तिनपाटन गाउँपालिका-२, की ३० वर्षीया शर्मिला कार्की श्रेष्ठ र भारतीय नागरिक अन्दाजी २४ वर्षीय सुनिल यादवकाे सनाखत भएको हाे । प्रहरीका अनुसार मृतक श्रेष्ठ तीन महिने सुत्केरी हुन् । दुर्घटनामा उनकी तीन महिने छोरी अवासी श्रेष्ठ भने सामान्य घाइते मात्र रहेकाे प्रहरीले जनाएकाे छ । ती बच्चीकाे लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार चलिरहेको छ ।

एक महिला सहित दुई मृतकको भने पहिचान खुल्न बाँकी रहेको छ । उनीहरुकाे पनि पहिचान खुलाउने प्रयास भईरहेकाे प्रहरीले जनायाे । मृतक ४ जनाकै शव पाेष्टमार्टमका लागि मलंगवा स्थित प्रादेशिक अस्पतालमा राखिएकाे छ ।

वीरगंजबाट जनकपुर जाँदै गरेकाे ना. ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस बिहान सबा ११ बजे लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको सीमामा पर्ने फूलजोर खोलाको पुलबाट तल खसेकाे थियो । दुर्घटनामा परेर बसका चालक सहित ३२ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । घाईते बसका चालक बाराको कलैया उपमहानगरपालिका-१२ निवासी ४८ वर्षीय ज्योतिप्रसाद साहको समेत प्रहरी निगरानीमा उपचार चलिरहेको छ ।

घाईतेमध्ये गम्भीर १० जनालाई काठमाडौं, वीरगञ्ज, बर्दिवास तर्फ थप उपचारका लागि पठाईएकाे छ भने सामान्य घाईते २२ जनाको भने लालबन्दी र रानिगंजका विभिन्न स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको लालबन्दी प्रहरीले जनाएको छ ।

साँघुरो पुलमा विपरीत दिशाबाट आइरहेको एउटा टाटासुमोलाई साइड दिन खोज्दा बस पुलबाट तल खसेको हो कि भन्ने प्रारम्भिक अनुमान गरिएपनि दुर्घटनाका कारण पत्ता लगाउन थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए ।