logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सर्लाहीको धनकौलमा आगाेले १३ घर जले, लाखाैंकाे क्षति


  • उज्यालो अभियान

धनकौल – सर्लाहीको दक्षिण-पश्चिम भेगमा पर्ने धनकौल गाउँपालिका–५, पासवान बस्तीमा शनिबार दिउँसो आगलागी हुँदा १३ वटा घर पूर्णरुपमा जलेर नष्ट भएका छन् ।

शनिबार दिउँसो १ तिर स्थानीय प्रदीप पासवानको घरबाट अचानक सुरु भएको आगलागीले बस्तीका १३ वटा घर जलेर खरानी भएका हुन् । आगलागीबाट प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवान, सितल पासवान, बिकाउ पासवान, जितन पासवान, रामविश्वास पासवान, गगन देव पासवान, नन्दकिशोर पासवान, सरफलाल पासवान, राकेश साह, रामनाथ पासवान र मचिन्दर पासवानको घर पूर्णरुपमा जलेर नष्ट भएका धनकौल गाउँपालिका-५, का वडाध्यक्ष गजेन्द्र महतोले उज्यालो अभियानसँग बताए ।

महतोका अनुसार आगलागीबाट जलेका अधिकांश फुसको छानो भएका कच्ची घरहरु रहेका छन् । आगलागीबाट स्थानीय गगन हजारीको घरमा आंशिक क्षति पुगेको छ । शनिबार साँझसम्म आगलागीको कारण प्रष्ट भइसकेको छैन् । शनिबार दिउँसो तीव्र गतिमा हावा चलेको समयमा आगलागी भएकाले धेरै क्षति हुन पुगेको वडाध्यक्ष महतोले जनाए ।

आगलागी स्थानीयवासी, सुरक्षाकर्मीसहित सदरमुकाम मलङ्गवा नगरपालिका र हरिवन नगरपालिकाबाट पुगेको दमकलको सहयोगमा नियन्त्रणमा लिएको घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी उमाशंकर प्रसाद यादवले बताए । प्रनाउ यादवले क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताएका छन् ।
आगलागीपछि अतिविपन्न पीडितहरुको बिचल्ली भएको छ । पीडितहरुलाई तत्कालका लागि आफूले आफ्नै घरमा शरण दिएर राखेको वडाध्यक्ष महतोले बताएका छन् ।

फाेटाे क्याप्सन : आगाेले जलेर ध्वस्त पासवान टाेलामा जम्मा भएका स्थानीयहरु । (तस्बिर : उज्यालाे अभियान)