बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोस्रो सेमिफाईनल खेलमा सुदूरपश्चिम–११ लाई १ का विरुद्द ३ गोलले पराजित गर्दै मछिन्द्र फुटबल क्लब काठमाडौं फाईनल प्रवेश गरेको छ ।
शहिद स्मारक लिगको पछिल्लो दुई संस्करणको च्याम्पियन मछिन्द्र जीतसँगै चालू सिजनमा राजर्षि जनक कप नकआउट फुटबलको उपाधी समेत चुम्ने यात्रामा अगाडी बढेको छ । मध्यान्तरसम्म बराबरी रहेको खेलको ४७औ मिनेटमा जर्सी नम्बर ८ का विशाल राईले गोल गर्दै मछिन्द्रको तर्फबाट गोलको खाता खोले । जर्सी नम्बर १० का विमल घर्ती मगरको क्रसपास बललाई सानदार प्रहार गर्दै राईले सुदूरपश्चिमको जाली चुमाएका हुन् ।
त्यस्तै ६३ औ मिनेटमा सुदूरपश्चिमका जर्सी नमबर ५ का दिपेंक राज ठकुरीले लामो प्रहारबाट गोल गर्दै खेललाई बराबरीमा ल्याए । ठकुरीले २० यार्ड टाढाबाट प्रहार गरेको बल आउट गयो भनेर ढुक्कसँग बसेका राष्ट्रिय गोलकिपर समेत रहेका मछिन्द्रका गोलकी विशाल श्रेष्ठले आफ्नो गोलपोष्टको जाली चुमेको भेउ नै पाएनन् ।
त्यसैगरी खेलको ७८ औं मिनेटमा मछिन्द्रका विमल घर्तीले हेड मार्फत सुन्दर गोल गर्दै खेललाई २–१ मा पुर्याए । मछिन्द्रका कप्तान जर्सी नम्बर ११ का सुजल श्रेष्ठले दिएको पासलाई विमलले हेड मार्फत सुदूरपश्चिमको गोलपोष्टको जाली सहजै चुमाएका हुन् ।
त्यस्तै खेलको ८४ औ मिनेटमा जर्सी नम्बर ७७ का विदेशी खेलाडी नोर्लान नोरुजोपले गोल थप्दै मछिन्द्रको जीत सुनिश्चित गरे । जर्सी नम्बर ८८ का आन्द्रेस नियाको क्रसपास बललाई नोर्लानले गोल गर्दा खेल ३–१ मा पुग्यो । शुक्रबारको खेलमा मछिन्द्रका जर्सी नम्बर १९ का देवेन्द्र तामाङले म्यान अफ दि म्याच घोषित हुँदै नगद १० हजार हात पारे ।
सुदूरपश्चिमका खेलाडीले पटक पटक गोल फर्काउने प्रयास गरेपनि सकेनन् । सुदूरपश्चिमले विहिबार मात्र जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन लिग खेल्ने फ्रेण्ड्स क्लबलाई ३–१ गोलले हराएको थियो । विहिबार पनि भिडेर खेलेका सुदूरपश्चिमका खेलाडी नेपालकै १ नम्बर क्लबसँग मैदानमा उत्रनुपर्दा केही निरीह देखिन्थे । नेपालका एक से एक राष्ट्रिय खेलाडीहरु विमल घर्ती मगर, सुजल श्रेष्ठ, देवेन्द्र तामाङ, विशाल राई, राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठका साथै अफ्रिकन मूलका उत्कृष्ट विदेशी खेलाडी समेत मैदानमा उतारेको मछिन्द्रका अगाडी सुदूरपश्चिमका खेलाडी निरिह हुनु स्वभाविक नै थियो ।
यद्यपि नेपालकै सबैभन्दा बढी पुरस्कार राशीको नकआउट फुटबल प्रतियाेगिता ´झखप्तड गोल्डकप` आयोजना गर्दै आईरहेको र मोफसलमा आफैले समेत राम्रा खेलाडी उत्पादन गरिरहेको सुदूरपश्चिमलाई दर्शकहरुको समेत उल्लेख्य साथ भएपनि खेलाडीले खेल प्रदर्शन गर्न नसक्दा मछिन्द्रसँग पराजित हुँदै बाहिरिन बाध्य भयो । सुदूरपश्चिम राजर्षि जनक कप दोस्रो संस्करणको उपाधी चुमेको टिम हो ।
अब मछिन्द्रले आगामी आईतबार उपाधीका लागि डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटौंडासँग भिड्नुपर्नेछ । डिफेण्डिङ च्याम्पियन पिप्ले लगातार दोस्रो पटक राजर्षि जनक कपको उपाधी चुम्ने तयारीका साथ मैदानमा उत्रने हुँदा फाईनल खेल निकै प्रतिष्पर्धात्मक हुने निश्चित छ ।
आयोजक र विदेशी १ सहित १२ वटा टिमले सहभागिता जनाएकामा नेपाल पुलिस क्लब काठमाडौं, सशस्त्र प्रहरीको एपिएफ क्लब, हिमालयन शेर्पा क्लब काठमाडौं, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन, आयोजक बागमती युवा क्लब र सुदूरपश्चिम पराजय व्यहोर्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५०० पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए ।
आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीका अनुसार प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने छ । प्रतियोगिताको फाईनल खेल भने चैत १३ गते आईतबार हुने बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
फोटो क्याप्सन : शुक्रबारको खेलमा सुदूरपश्चिम–११ लाई हराएको मछिन्द्र फुटबल टिम । (तस्बिर : उज्यालो अभियान)