मलंगवा – सर्लाही सदरमुकाम मलंगवा नगरपालिकामा जनता समाजवादी पार्टीको विहिबार जिल्ला समन्वय समितिको विस्तारित बैठक सम्पन्न भएको छ ।
मलंगवामा रहेको कुसुम पार्टी प्यालेसमा भएको जसपाको जिल्ला समन्वय समिति सर्लाहीको विस्तारित बैठकमा जिल्ला अध्यक्ष विरेन्द्र रायको अध्यक्षता तथा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता रहेको थियो । सरकारले आगामी बैशाख ३० गते स्थानीय निर्वाचन गर्ने घोषणा गरेसँगै स्थानीय चुनावलाई लक्षित गरी विस्तारीत बैठकको आयोजना गरिएको जिल्ला अध्यक्ष विरेन्द्र रायले जानकारी दिए ।
कार्यक्रमकै बिच करिब ४०–५० जना कार्यकर्ता लोकतान्त्रीक समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमाले परित्याग गरी आफूहरुको पार्टीमा प्रवेश गरेकाे जसपा जिल्ला अध्यक्ष रायले दावी गरे । पार्टी प्रवेश गरेका सबैलाई केन्द्रीय अध्यक्ष यादवले फुलमा पहिर्याएर पार्टीमा प्रवेश गराएका थिए ।
बैठकमा पार्टीका कार्यकारिणी सदस्य एवं संघिय कृषिमन्त्री महेन्द्र राय यादव, पार्टीका प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादव, नेताहरु राम नरेश राय यादव, अशोक सिंह कुशवाहा लगायत केन्द्र, जिल्ला र पालिका स्तरका नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले चुनाव नजिक आईसकेकाले तयारीमा जोडतोडका साथ लाग्न सम्पूर्ण नेता कायकर्तालाई आह्वान गरेका थिए ।
फाेटाे क्याप्सन : बैठकमा उपस्थित केन्द्रीय अध्यक्ष उपेन्द्र यादव (सबैभन्दा बायाँ) लगायत नेताहरु । (तस्बिर : उज्यालाे अभियान)