logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

आज लालबन्दी नपा कार्यालय बन्द हुने


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाले एक दिनका लागि आफ्नो सेवा प्रवाह बन्द गर्ने भएको छ ।

जिल्लाको उत्तरी भेगमा रहेको लालबन्दी नगर कार्यपालिकाले आफ्नो नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि चैत्र ११ गते शुक्रबार एक दिन कार्यालय बन्द गर्ने निर्णय गरेको हो । चैत्र १३ गते आईतबारबाट पूर्व–पश्चिम राजमार्गस्थित मरिण जाने चोकबाट उत्तर लालबन्दी नगरपालिका–८, मा नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नका लागि कार्यालयको सामान मिलाउने लगायत व्यवस्थापनको काम गर्नका लागि चैत ११ गते शुक्रबार कार्यालयको सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको नगरपालिका कार्यालयले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेव तिमल्सिनाले विहिबार एक सूचना प्रकाशित गर्दै शुक्रबार कार्यालयको सेवा बन्द हुने जानकारी दिएका हुन् ।

आगामी आईतबारबाट २ तल्लामा १६ वटा कोठा रहेको भवनमा नगरपालिकाको सेवा प्रवाह हुनेछ । नगरपालिकाको भवन निर्माणका लागि स्थानीय पूर्णबहादुर श्रेष्ठले स्वर्गिय बुवा रामबहादुर श्रेष्ठ र आमा धनमाया श्रेष्ठको नाममा पाँच कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । लालबन्दी नगरपालिका–८ मै निर्माण सुरु गरिएको नगरपालिका भवनको निर्माण कार्य गर्दा गर्दै ठेकेदार फरार भएपछि फेरी त्यही ठाउँमा निर्माण गरिएको कार्यालय भवनको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले नै शिलान्यास गरेका थिए ।