logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : मछिन्द्रद्वारा ‘सडनडेथ’मा क्यामरुनी टिम पराजित


  • उज्यालो अभियान

बागमती –  छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा मछिन्द्र फुटबल क्लबले एभिनिर फुटबल क्लब क्यामरुनलाई सडनडेथमा ६–५ गोलले पराजित गरेको छ । अफ्रिकन खेलाडीहरु मात्र रहेको एभिनिरलाई पराजय गरेसँगै नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले सेमिफाईनलमा स्थान सुरक्षीत गरेको छ ।

९० मिनेटको निर्धारित समयमा गोलरहित बराबरी भएपछि नतिजाका लागि खेल ट्राईबेकरमा गएको थियो । ट्राईबेकरमा मछिन्द्रका जर्सी नम्बर १० का विमल घर्ती मगर, जर्सी नम्बर ७७ का नुर्लाङ नुरुजोभ, जर्सी नम्बर ११ का कप्तान सुजल श्रेष्ठ, जर्सी नम्बर ४ का ओमालाजा करिन र जर्सी नम्बर ५ का सोनम ज्याम्पो भुटिया पाँचैजनाले गोल गरे ।
त्यस्तै एभिनिरका तर्फबाट पनि जर्सी नम्बर ४ का मार्सल, जर्सी नम्बर २६ का केनी, जर्सी नम्बर १४ का बेल, जर्सी नम्बर ६ का टोवेट र जर्सी नम्बर ११ का मार्टीनले पनि गोल गरे । दुवैतर्फबाट ५–५ गोल भएपछि खेल सडनडेथमा गयो । सडनडेथमा मछिन्द्रका जर्सी नम्बर १९ का देवेन्द्र तामाङले गोल गर्दा एभिनिरका जर्सी नम्बर ९ का एस बोरिसले प्रहार गरेको बल क्रसबारमा लागेर फर्कियो ।
लगतै खेलका मुख्य रेफ्रि नविन्द्र महर्जनले मछिन्द्रको पक्षमा लामो हुसिल फुकेर जीतकाे घोषणा गरे । नेपाली राष्ट्रिय टिमका एक से एक खेलाडीहरुले सुसज्जित भएपनि निर्धारित खेल अवधिभर एभिनिर विरुद्ध गोल गर्न चुकेको मछिन्द्र अन्ततः ट्राईबेकरको पनि सडनडेथमा एभिनिरका खेलाडीले मिस गर्दा भाग्यमानी सावित हुँदै प्रतियोगिताको अन्तिम ४ स्थानमा उक्लन सफल भयो । यसअघि सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबसँग खेल्ने क्रममा रातो कार्डका कारण आफ्ना पहिलो रोजाईका दुई खेलाडी मैदानमा उतार्न नपाएपनि निर्धारित खेल अवधिमा निकै राम्रो खेलेको एभिनिर क्यामरुन ट्राईबेकरको सडनडेथमा खेलाडीको मिसका कारण अभागी सावित हुँदै प्रतियोगिताबाट बाहिरिन बाध्य भयो ।

एभिनिरले नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडीहरु विमल घर्ती मगर, सुजल श्रेष्ठ, अभिषेक रिजाल, विशाल राई, देवेन्द्र तामाङ, राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ तथा विदेशी ३ खेलाडी समेत मैदानमा उतारेको नेपालको ए डिभिजन लिगको पछिल्लो दुई संस्करणको च्याम्पियन मछिन्द्रलाई निर्धारित समयको खेलमा हरभरा खेलाएको थियो । मछिन्द्रका खेलाडीले जतिसुकै गोल गर्न खोजेपनि एभिनिरका रक्षापंक्तिका खेलाडीहरु कवच बनेर उभिएका थिए । दुवै टिमका खेलाडीले निकै राम्रा अवसरहरुलाई सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमै टुंगियो ।
शारिरिक रुपमा केही अग्ला र बलिया जस्ता देखिने खेलाडीहरु मात्र रहेको एभिनिरलाई साना कद्का मछिन्द्रका खेलाडीले समेत हाबुकाबु खेलाएका थिए । बुधबारको खेलमा म्यान अफ दि म्याच घोषित हुँदै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले नगद १० हजार हात पारे ।

अब मछिन्द्रले प्रतियोगिताको फाईनल पुग्नका लागि शुक्रबार दोस्रो सेमिफाईनल खेलमा सुदुरपश्चिम–११ सँग भिड्नु पर्नेछ । विहिबार हुने पहिलो सेमिफाईनल खेल आयोजक बागमती युवा क्लब र डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटाैंडाबीच हुँदैछ ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडौं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।

जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग, हिमालयन शेर्पा क्लब काठमाडौं पिप्ले युवा क्लब हेटौंडासँग, नेपाल पुलिस क्लब सुदूरपश्चिम–११, धनगढीसँग, एनआरटी क्लब आयोजक बागमती युवा क्लबसँग र एभिनिर फुटबल क्लब क्यामरुन मछिन्द्र फुटबल क्लबसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । प्रतियोगिताको फाईनल खेल चैत १३ गते हुनेछ ।

फोटो क्याप्सन : बुधबारको खेलमा एभिनिर क्यामरुनलाई पराजित गरेको मछिन्द्र फुटबल क्लबका खेलाडीहरु । (तस्बिर : उज्यालो अभियान)