बागमती – छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत बुधबार दिउँसाे अन्तिम क्वाटरफाईनल खेल हुँदैछ । पछिल्लाे दुई संस्करणदेखि निरन्तर नेपालकाे ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र अफ्रिकन खेलाडीहरु मात्र रहेकाे एभिनिर फुटबल क्लब क्यामरुनबीचकाे खेल निकै प्रतिष्पर्धात्मक हुने देखिन्छ ।
सुजल श्रेष्ठ, विमल घर्ती मगर, मनिष डाँगी, सुनिल बल जस्ता पछिल्लाे समय नेपालका स्टार खेलाडीले भरिपूर्ण मछिन्द्र र शारिरिक रूपमा निकै बलिया मानिने अफ्रिकन खेलाडीहरु मात्र मैदानमा उतार्ने एभिनिर क्यामरुन बीचकाे खेल अत्यन्त टक्कर र प्रतिष्पर्धात्मक हुनेमा दुईमत छैन । प्रतिष्पर्धात्मक मात्र नभई अफ्रिकन खेलाडीहरुकाे खेल काैशल अनि व्यबहारहरुले दर्शकलाई थप राेमाञ्चकता समेत दिलाउने नै छ ।
यसअघि प्रि-क्वाटरफाईनल खेलमा सशस्त्र प्रहरी बलकाे नेपाल एपीएफ क्लब जस्ताे बलियाे टिमलाई पन्छाउँदै क्वाटरफाईनल आईपुगेकाे एभिनिर र मछिन्द्रबीचकाे विजेताले नै जारी राजर्षि जनक कप छैठाैं संस्करणकाे उपाधी चुम्ने अड्कलबाजी खेलप्रेमी दर्शकहरुले गर्न थालिसकेका छन् । लगातार दुईसातादेखि बागमतीमै आफ्ना खेलाडीलाई राखेर स्थानीय वातावरण, खेलमैदान अनि दर्शकसँग घुलमिलका साथ अभ्यास गराईरहेकाे एभिनिरले लिग च्याम्पियन मछिन्द्रलाई कडा चुनाैती पेश गर्ने निश्चित छ । यद्यपी खेलमा कसले बाजि मार्ने हाे भन्ने थाहापाउन त निर्धारित खेल समय र त्यसमा पनि बराबरी भए ट्राईबेकरसम्म त कुर्नै पर्नेछ । जेहाेस् आजकाे विजेताले प्रतियाेगिताकाे अन्तिम ४ स्थानमा सुरक्षीत गर्ने अन्तिम टिम मात्र नभई, उपाधीयात्राकाे दाैडमा आफूलाई सशक्त दाबेदारकाे रूपमा उभ्याउने निश्चित छ ।
म्याच कमिस्नर दिपक लामाका अनुसार प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम (एनआरटी) काठमाडाैं, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, केबीए ग्लोबल बीएफसी चितवन एनआरटीसँग, एपीएफ क्लब एभिनिर फुटबल क्लब क्यामरुनसँग, हिमालयन शेर्पा क्लब काठमाडाैं पिप्ले युवा क्लब हेटाैंडासँग, नेपाल पुलिस क्लब सुदूरपश्चिम-११, धनगढीसँग र एनआरटी क्लब आयाेजक बागमती युवा क्लबसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । प्रतियाेगिताकाे फाईनल खेल चैत १३ गते हुनेछ ।