म्यादी प्रहरीका लागि सदरमुकाम मलंगवामा आवेदन दिन लागेको भीड । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – सर्लाहीमा म्यादी प्रहरीका लागि दुई दिनमा नै माग गरिएको भन्दा धेरैको आवेदन परेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले स्थानीय तह निर्वाचन २०७९ का लागि तीन हजार ८८ जना म्यादी प्रहरी माग गरेको छ । तर आवेदन खुलेको दुई दिनमा चार हजार २७१ जनाले आवेदन दिइसकेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आवेदन खुलेको पहिलो दिन आइतबार एक हजार ६३५ जना र दोस्रो दिन सोमबार दुई हजार ६३८ जनाको आवेदन परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक एवं म्यादी प्रहरी भर्ना छनौट उपसमितिका सदस्य कृष्ण गिरीले जानकारी दिए । उनका अनुसार छोटो अवधिका लागि भएपनि रोजगारी पाउने आशामा म्यादी प्रहरीका लागि आवेदन दिन आउनेहरुको अत्यधिक भीड छ ।
यही सङ्ख्यामा आवेदन परेमा छनौट गर्न अत्यन्तै चूनौति हुने देखिएको प्रहरी निरीक्षक गिरीले बताए । म्यादी प्रहरीका लागि गएको आइतबारदेखि आवेदन लिन सुरु गरिएको र आगामी शुक्रबारसम्म लिइने जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
चैत १३ गते सम्पर्क, चैत १५ देखि २२ गतेसम्ममा छनौट र चैत २८ गतेदेखि प्रशिक्षण गरेर म्यादी प्रहरीलाई निर्वाचनमा खटाइने छ । म्यादी प्रहरीले ४० दिन कार्य अवधिमा तलब ३० हजार २४०, खाना तथा खाजा सात हजार २०० र पोसाक बापत छ हजार रुपैयाँ पाउने छन् ।