logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

सई यादवलाई मरणासन्न हुनेगरि कुटपिट गरेकाे आराेपमा माझी पक्राउ


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीकाे उत्तरी चुरे क्षेत्र स्थित पत्थरकोट प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक (सई) राम एकवाल यादवलाई सख्त घाइते हुनेगरि कुटपिट गरेकाे आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेकाे छ ।

लालबन्दी नगरपालिका-१२, पत्थरकाेट निवासी २५ वर्षीय सुमन माझीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीकाे टाेलीले आईतबार पक्राउ गरेकाे हाे । माझिविरुद्द ज्यान मार्ने उद्याेग मुद्दामा जिल्ला अदालत मलंगवाबाट म्याद लिएर अनुसन्धान अगाडि बढाईएकाे प्रहरीले जनाएकाे छ ।

लालबन्दी नगरपालिका–१३, पत्थरकोट छेंडा गाउँ स्थित प्रहरी चौकीका प्रमुख सई यादवमाथि गत बिहीबार मध्यराती प्रहरी पोसाकमै रहेकाे अवस्थामा मणासन्न हुनेगरी कुटपिट भएकाे थियाे । फरार जबर्जस्ती करणी आराेपी अभियुक्त पक्राउ गर्न गएकाे सादा पाेशाककाे प्रहरी टाेलीमाथि आक्रमण सहित हाेहल्ला भएपछि थप मद्दतका लागि घटनास्थलतर्फ गएका सई यादवमाथि लालबन्दी नगरपालिका वडा नं. १२ र १३ को सीमामा पर्ने लखन्देही खोलास्थित झोलुङ्गे पुल नजिकै आक्रमण भएको हो । स्थानीयको आक्रमणबाट सख्त घाइते भएका सई यादवको नेपाल प्रहरी अस्पताल, काठमाडाैंमा उपचार चलिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

स्थानीयले काठको चिपर्टले प्रहार गर्दा उनको टाउको लगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ । सो घटनामा एक जना प्रहरी जवान पनि सामान्य घाइते भएका छन् । प्रहरी टाेलीमाथि आक्रमणमा संलग्न अन्य फरार अभियुक्तहरुकाे पनि खाेजिकार्य जारी रहेकाे सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

फाेटाे क्याप्सन : नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक राम एकवाल यादवमाथि मरणासन्न हुनेगरि कुटपिट गरेकाे आराेपमा पक्राउ परेका अभियुक्त सुमन माझी । (तस्बिर स्राेत : नेपाल प्रहरी)