logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

राजर्षि जनक कप : डिफेण्डिङ च्याम्पियन पिप्ले सेमिफाईनल प्रवेश


  • उज्यालो अभियान

बागमती – सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत आईतबार दिउँसो सम्पन्न पहिलो क्वाटरफाईनल खेलमा डिफेण्डिङ च्याम्पियन पिप्ले युवा क्लब हेटौंडा विजयी भएको छ । ए डिभिजन लिग खेल्ने हिमालयन शेर्पा क्लब काठमाडौंलाई ३–० गोलले पराजित गर्दै पिप्ले राजर्षिको छैठौं संस्करण अन्तर्गत सेमिफाइलनमा पुग्ने पहिलो टिम समेत बनेको हो । उद्घाटन खेलमा ध्रुबतारा स्पोर्टिङ क्लब दमक, झापालाई जितेर क्वाटरफाईनल यात्रा गरेको हिमालयनमाथि सहजै जीत हात पार्दै मोफसलको पिप्ले युवा क्लब राजर्षिको छैठौं संस्करणमा समेत उपाधी यात्रातर्फ लम्किएको छ ।

खेलको १५औं मिनेटमा जर्सी नम्बर १७ का रुपक लामाले फ्रिकिक प्रहार मार्फत शानदार गोल गर्दै पिप्लेको तर्फबाट खाता खोले । ४० यार्ड टाढाबाट लामाले सोझै गोलपोष्ट प्रहार गरेको फ्रिकिक बलले हिमालयन शेर्पाको जाली सहजै चुम्दा हिमालयनका गोलकिपर किशोर गिरीले भेउ नै पाएनन् ।

त्यस्तै जर्सी नम्बर १७ का रुपक लामाले ४९औं मिनेटमा डिबक्स भन्दा केही परबाट प्रहार गरेको फ्रिकिक बललाई जर्सी नम्बर ५ का कुलदिप कार्कीले सुन्दर हेड मार्फत हिमालयन शेर्पाको जाली चुमाए । कार्कीले हेड गरेको बलले हिमालयनका गोलकिपर गिरीलाई विट गर्दै गोलपोष्टको दिशा लिँदा खेल २–० मा पुग्यो ।

त्यस्तै ४ मिनेटको अतिरिक्त समयमा पिप्लेका जर्सी नम्बर १० का रितिक खड्का एक्लैले सेन्टर लाईन नजिकबाट लगेको बललाई हिमालयन शेर्पाको जाली चुमाएरै छाडे । ४ जना रक्षापंक्तिका खेलाडीलाई छलाउँदै बल अगाडी बढाएका खड्काले वान भर्सेज वानको अवस्थामा रहेका हिमालयनका गोलकिपरलाई समेत विट गरेर सहजै गोलपोष्टको दिशा दिँदै पिप्लेको जीत सुनिश्चित गरे । आफ्ना नियमित खेलाडी नभएपछि थ्रिस्टार क्लबका खेलाडी खड्कालाई आईतबार पिप्लेले मैदानमा उतारेको थियो । खड्का सर्लाहीकै रानिगंज निवासी हुन् । आईतबारको खेलमा पिप्लेका जर्सी नम्बर १७ का रुपक लामालाई म्यान अफ दि म्याच घोषित गर्दै नगद १० हजार दिईयो ।

खेलमा ए डिभिजन लिग खेल्ने हिमालयनका खेलाडी पिप्लेका अगाडी निरिह देखिए । खासगरी फरवार्ड लाईनमा फिनिसिङ नहुँदा हिमालयनका खेलाडीले गोल गर्नै सकेनन् । यद्यपी पहिलो हाफको अतिरिक्त समयमा जर्सी नम्बर १६ का दिवस ओरौले गरेको सुन्दर हेड पिप्लेको गोलपोष्टको क्रसबारमा ठोक्कियो भने जर्सी नम्बर १४ का सत्य शर्माले ७७औं र ७८औं मिनेटमा सशक्त प्रहार गरेको बल क्रसबार र साईड बारमा ठोक्किँदा खेललाई बराबरीमा ल्याउने हिमालयनको अथक प्रयास सफल हुन सकेन । अन्तिम १५ मिनेट अत्यन्त आक्रामक खेलेर पटक–पटक गोलपोष्ट प्रहार गरेपनि हिमालयनका खेलाडी पिप्ले विरुद्ध गोल गर्न भने चुकिरहे ।

खेलाडीले निकै मेहेनत गरेर खेलेका कारण नतिजा आफ्नो पक्षमा आएको पिप्ले युवा क्लबका प्रशिक्षक सुविन घिमिरेको भनाई छ । खेलको सूरुमै साईड मिडफिल्ड र फरवार्ड लाईन बिग्रीएको तथा अत्यन्त सजिलो खालका २ गोल खान पुगेपछि खेलाडीहरु सम्हालिन नसक्दा खेलको नतिजा सुम्पनु परेको हिमालयन शेर्पाका प्रशिक्षक युगल किशोर राईले स्वीकार गरे ।

अब पिप्ले युवा क्लबले फाईनल प्रवेशका लागि चैत १० गते हुने पहिलो सेमिफाईनल खेलमा आयोजक बागमती युवा क्लब र एनआरटीबीचको विजेतासँग भिड्नु पर्नेछ । भोली चैत ७ गते सोमबार दोस्रो क्वाटरफाईनल खेल नेपाल पुलिस क्लब र सुदूरपश्चिम–११, धनगढी बीच हुँदैछ । नव जन जागृति युवा क्लब सिमरालाई हराउँदै क्वाटरफाईनल प्रवेश गरेको पुलिस र सिधै बाईमा परेको सुदूरपश्चिमबीचको खेल पनि निकै प्रतिष्पर्धात्मक हुने आयोजक टिमका म्याच कमिस्नर दिपक लामाले जानकारी दिए । सर्लाहीकै हरिवन निवासी पूर्व राष्ट्रिय स्ट्राईकर जुमनु राईको कप्तानी रहेको पुलिस टिम ४ दिनअघि देखि नै यही रहेको र सुदूरपश्चिम टोली पनि प्रशिक्षक सुरेश हमालको नेतृत्वमा आईतबार साँझ सर्लाही आईपुगिसकेको छ ।

प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।

जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग, नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग, बीएफसी चितवन एनआरटी काठमाडौंसँग, एपीएफ क्लब क्यामरुनी टिमसँग र हिमालयन शेर्पा पिप्ले युवा क्लब हेटौंडासँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने म्याच कमिस्नर लामाले बताए ।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।
फोटो क्याप्सन : आईतबार हिमालयन शेर्पालाई हराएको पिप्ले युवा क्लब हेटौडाको टिम । (तस्बिर : उज्यालो अभियान)