बागमती – छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार दिउँसाे तेस्रो खेल न्यु रोड टिम (एनआरटी) काठमाडौं र केबीए ग्लोबल बीएफसी चितवन बीच सूरु भएकाे छ ।
शुक्रबार दिउँसो ४ बजेर ८ मिनेटमा स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा दुई टिमबीचकाे खेल सूरु भएकाे हाे । ए डिभिजन लिग खेल्ने एनआरटी र मोफसलको चितवन टिम बीचको खेलमा दुवै टिमकाे तर्फबाट अफ्रिकन मुलका विदेशी खेलाडी समेत रहेकाले निकै प्रतिष्पर्धात्मक हुने देखिएकाे छ । एनआरटीका प्रशिक्षक एवं नेपाली फुटबल राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका राजुकाजी शाक्यकाे समेत खेलमैदान स्थित अफिसियल राेमा बसेका छन् ।
प्रतियोगितामा आयोजक बागमती युवा क्लब र एउटा विदेशी क्लब समेत १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम–११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक, विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन र आयोजक बागमती युवा क्लबले भाग लिएका आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए । जसमध्ये ध्रुबतारा स्पोर्टिङ क्लब झापा दमक हिमालयन शेर्पा क्लब काठमाडौंसँग र नव जन जागृति युवा क्लब सिमरा नेपाल पुलिस क्लबसँग पराजय व्यहोरेर प्रतियोगिताबाट बाहिरिसकेका छन् । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।