कार्यक्रममा बोल्दै मन्त्री वीरेन्द्र प्रसाद सिंह । (तस्बिर : उज्यालो अभियान)
घुर्कौली – हरिवन नगरपालिका अन्तर्गत घुर्कौलीमा विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा दर्जनौं नेता कार्यकर्ता प्रवेश गरेको नेपाली कांग्रेसले दाबी गरेको छ ।
नेपाली कांग्रेसको निर्वाचन लक्षित देशव्यापी अभियान अन्तर्गत ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सूरु भएकै दिन सोमबार हरिवनको घुर्कौलीमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत पार्टीका नेता कार्यकर्ता सो पार्टीमा प्रवेश गरेको सो पार्टीका नेता राम प्रसाद मैनालीले जानकारी दिए । मैनालीका अनुसार हरिवन नगरपालिका–५ को वडा कार्यालय अगाडी चौतारामा आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका रुदल लामाको नेतृत्वमा सुरेन्द्र घलान, शुक्र बहादुर लोप्चन, परमेश्वर घलान, कामेश्वर महतो, महादेव महतो, अशोक राई, दिवन न्यौपाने सहित दर्जनौं नेता कार्यकर्ता कांग्रेस पार्टीमा प्रवेश गरेका हुन् ।
कांग्रेस हरिवन नगर समितिका सभापति रामशरण उप्रेतीको अध्यक्षता रहेको कार्यक्रममा पार्टीका मधेश प्रदेश समितिका उपसभापति एवं प्रदेश सरकारका महिला बालबालिका तथा युवा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निवर्तमान जिल्ला सभापति एवं संघीय सांसद् नागेन्द्र कुमार राय, भर्खरै नवनिर्वाचित जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंह, जिल्ला सचिब निरज कार्की, नेताहरु रामवली राय, कृष्णदेव यादव लगायतको विशिष्ट आतिथ्यता रहेको थियो ।
नव प्रवेशी नेता कार्यकर्तालाई प्रमुख अतिर्थि सिंह सहित विशिष्ट आतिथीहरुले अबिर र गम्छा पहिर्याएर कांग्रेस पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै मधेश प्रदेशका उपसभापति एवं मन्त्री सिंहले अब सबैजना एकजुट भएर कांग्रेसलाई सबै स्थानीय तहमा विजयी गराउन आग्रह गरे । सबै जातजातीलाई मिलाएर हिड्ने र जनताको सुख दुःखमा सदैव साथ दिने एकमात्र कांग्रेस पार्टी भएको वक्ताहरुको दाबी थियो । कम्युनिष्ट पार्टीहरुले जनतालाई फोस्रा नारा र आश्वासन देखाउने गरेको आरोप लगाउँदै वक्ताहरुले विकासको लहर ल्याउने र काम गरेर देखाउने मुलुकको एकमात्र पार्टी कांग्रेस नै भएको दाबी गरे ।
अर्जुन योञ्जनको सञ्चालन रहेको कार्यक्रममा नव निर्वाचित जिल्ला सभापति सिंह तथा सचिब कार्कीलाई उपस्थित नेता कार्यकर्तालाई माला र खादा पहिर्याएर बधाई तथा सम्मान प्रकट गरेका थिए ।