मलंगवा – नेपाली कांग्रेसकाे निर्वाचन लक्षित देशव्यापी अभियान अन्तर्गत सर्लाहीमा पनि साेमबारबाट ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’, अभियानको शुभारम्भ गरिएको छ ।
एक महिनासम्म चल्ने अभियानको सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति पुण्यप्रसाद घिमिरेको अध्यक्षता तथा अभियानका लागि सर्लाहीमा खटाइएकी केन्द्रीय सदस्य नगीना यादवको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो । कार्यक्रममा पूर्व केन्द्रीय सदस्य जंगिलाल राय, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, नेता विनोद खनाल, १ नम्वर क्षेत्रका क्षेत्रीय सभापति हरि बहादुर लुंगेली, २ नम्वर क्षेत्रका क्षेत्रीय सभापति कौशलकिशोर राय, नवनिर्वाचित जिल्ला सचिव मनोज यादव, जिल्ला सहसचिव इन्द्र योन्जन लगायतको उपस्थिति रहेको थियो ।
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले साेमबारबाट देशैभरी चुनावी अभियान सुरु गरेको हो । कांग्रेसको पक्षमा माहोल सिर्जना गर्ने उद्देश्यसहित कांग्रेसले ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गरेको हो । अभियानको क्रममा नेकपाको सरकारले गरेको जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचारका प्रकरण जनताका बीचमा राख्ने, प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा एमसीसी अनुमोदन भएको, यस विषयमा जनस्तरमा छरिएको भ्रम र दुष्प्रचारलाई चिर्ने लगायतका उद्देश्य रहेको कांग्रेसले जनाएको छ ।