मलंगवा – नेपाली कांग्रेस सर्लाही जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि शनिबार साँझ मतदान सम्पन्न भएकाे छ ।
साँझ ६ बजे मतदान सम्पन्न भएकाे जिल्ला निर्वाचन अधिकृत नागेश्वर प्रसाद सिंहले जानकारी दिए । उनका अनुसार ३ हजार २८७ मध्ये ३ हजार १७४ मत खसेकाे सुरक्षा स्राेतले जनाएकाे छ । निर्वाचन अधिकृत सिंहले भने एकीन तथ्यांक जाेडेर केहीबेर पछि भन्न सकिने बताए । ´अहिले मतपेटिका सिल गर्ने काममै व्यस्त छु, सबै जाेडजाड गर्न बाँकी छ, सिंहले उज्यालाे अभियानसँग भने, ´जेहाेस् चानचुन ३ हजार २०० मत खसेकाे छ ।
बिहान सबा १० बजेबाट सूरु भएकाे मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएकाे जिल्ला निर्वाचन अधिकृत सिंहले जानकारी दिए । बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने सूचना प्रकाशित गरेपनि विभिन्न प्रकृयागत कुराहरु मिलाउनु पर्ने भएकाले सबा २ घण्टा ढिला गरि मतदान सूरु भएकाे थियाे । मतदान ढिला गरि सूरु भएकाले साँझ ६ बजेसम्म मतदान स्थल मतदान स्थल सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयकाे मूलगेट भित्र छिरेका मतदातालाई मतदान गर्न दिने सहमति भएकाे थियाे ।
सर्लाहीको २० वटा पालिकाका २०० वटा वडाबाट छानिएका क्षेत्रीय प्रतिनिधिहरु तथा पदेन गरि जिल्लामा ३ हजार २८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात मतदाता रहेका थिए । अहिले केहीबेर पछि दुवै पक्षका प्रतिनिधीलाई राखेर मतगणनाका लागि आचारसंहिता बनाईने र अहिलेसम्मकाे कुरा अनुसार छेवैकाे कभर्डहलमा गणना गर्ने कुरा आएकाे र दुवै पक्षले सहमति गर्नेबितिकै खाना खाएर मतगणना सूरु गरिने निर्वाचन अधिकृत सिंहले जानकारी दिए ।
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा छन् । पार्टीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापतिमा बहालवाला जिल्ला उपसभापति सिंह र पूर्व जिल्ला सभापति रायबीच कडा प्रतिस्पर्धा हुँदैछ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुमा पनि दुवै पक्षले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
संस्थापन पक्षबाट उपसभापतिमा डा. सरोज कुमार (राजु) र शेष साहदुल्लाह, सचिवमा निरज कार्की र मनोज कुमार यादव, सहसचिवमा सुनिल कुमार कुशवाहा र इन्द्र योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, संस्थापन इतर पक्षबाट उपसभापतिमा नवीन अधिकारी र रविनन्दन चौधरी (पप्पु), सचिवमा नरेन्द्र भट्टराई र कृष्णराज रायमाझी, सहसचिवमा दिनेश मिश्र र सूर्य खड्काले उम्मेदवारी दिएका छन् । सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट यसअघि नै उम्मेदवारी परिसकेकाे निर्वाचन समितिले जनाएको छ ।