विहिबार बागमती स्थित ह्यारिसन होटलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित प्रमुख अतिथि बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तान सहित आयोजक बागमती युवा क्लबका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

बागमती – सर्लाहीका बागमतीमा हुने छैठौं राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपालको ए डिभिजन लिग च्याम्पिन मछिन्द्र क्लब देखि क्यामरुनको टिमले समेत सहभागिता जनाउने भएका छन् ।
विहिबार दिउँसो बागमती स्थित ह्यारिसन होटलमा पत्रकार सम्मेलन गर्दै आयोजक बागमती युवा क्लबले प्रतियोगिताको खेलतालिका सहित विविध पक्षमा जानकारी गराएको हो । आगामी चैत २ गतेदेखि १३ गतेसम्म हुने बागमती सिचाईं आयोजना कार्यालय छेउको स्व. सन्तोष श्रेष्ठ स्मृत्ति खेल मैदानमा हुने प्रतियोगितामा आयोजक सहित १२ वटा टिमको सहभागिता रहने छ ।
प्रतियोगितामा नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र युवा क्लब सहित ए डिभिजन स्तरका मनाङ्मस्र्याङ्दी क्लब, न्युरोड टिम (एनआरटी), नेपाल आईस हिमालयन शेर्पा, विभागीय नेपाल पुलिस क्लब र एपीएफ क्लब, अफ्रिकी मुलुक क्यामरुनको एभेनिर फूटबल क्लब लगायतको सहभागिता रहने निश्चित भईसकेको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए । त्यस्तै मोफसलका पिप्ले युवा क्लब हेटौंडा, नव जन जागृति युवा क्लब सिमरा, केबीए ग्लोबल बीएफसी चितवन र सुदूरपश्चिम–११ धनगढीले पनि प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । पिप्ले युवा क्लब हेटौंडा राजर्षि जनक कप फूटबल रनिङ शिल्डको डिफेण्डिङ च्याम्पियन पनि हो ।
पहिलो चरण अन्तर्गत २ गते उद्घाटन खेल मनाङमस्र्याङ्दी र हिमालयन शेर्पा बीच हुनेछ भने ३ गते सिमरा र पुलिस टिमबीच भिडन्त हुनेछ । त्यस्तै ४ गते एनआरटी र चितवन एवं ५ गते एपीएफ र क्यामरुनको टोली भिड्ने छन् । त्यसैगरी ७ गते बाईमा परेको सुदूरपश्चिमले सिमरा र पुलिसबीचको विजेतासँग भिड्ने छ भने ८ गते पनि बाईमा परेको आयोजक बागमती युवा क्लबले एनआरटी र चितवनबीचको विजेता टोलीसँग भिड्ने छ । त्यस्तै ९ गते बाईमै परेको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र र क्यामरुन तथा एपीएफबीचको विजेता आपसमा भिड्ने छन् । क्यामरुनको टिम भने अहिलेदेखि नै आएर सर्लाही बसिसकेको आयोजकले जनाएको छ । १० र ११ गते सेमिफाईनल प्रतिष्पर्धा हुने प्रतियोगिताको उपाधीका लागि फाईनल खेल भने चैत १३ गते हुने आयोजक बागमती युवा क्लबका सचिब कुमार प्रधानले जानकारी दिए ।
८१ लाख रुपैंया लागत अनुमान गरिएको प्रतियोगिताको उपाधी विजेतालाई प्रथम ट्रफि सहित नगद १० लाख तथा उपविजेता टिमले ट्रफि सहित ५ लाख रुपैंया पाउने छ । त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद २० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई बागमती राईजिङ् अफ दि ईयर प्लेयर्स घोषणा गर्दै एक थान नयाँ मोटरसाईकल पाउँने छन् ।
अखिल नेपाल फूटबल संघ (एन्फा) को क्यालेण्डर अनुसार प्रतियोगिता आयोजना गर्नुपर्ने भएकाले यसवर्ष नेपालीहरुको प्रसिद्ध होली पर्व तथा प्रचण्ड गर्मी हुने देखिएकाले केही कठिनाई महसुस गरिएपनि प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि करिब–करिब तयारी अन्तिम चरणमा पुगेको आयोजक बागमती युवा क्लबका अध्यक्ष मैनालीले जानकारी दिए । बागमती नगरपालिकाले २० लाख रुपैंया तथा आयोजक बागमती युवा क्लबको १० लाख रुपैंया तथा गतवर्ष देखि उपविजेतालाई नगद ५ लाख एवं ट्रफि धुलिखेल निर्माण सेवाले दिँदै आएको र बाँकी लागत खर्च भने विभिन्न सहयोगी सरकारी एवं गैरसरकारी संघ संस्था र व्यक्तिगत चन्दादाताबाट व्यवस्थापन गरिने आयोजकको भनाई छ । त्यस्तै दर्शकहरुलाई बिक्री गरिने टिकटबाट १० देखि १२ लाख रुपैंया संकलन हुने आयोजकको अनुमान छ । प्रतियोगिता हेर्ने दर्शकहरुका लागि पहिलो चरणका खेलमा १०० तथा सेमिफाईनल र फाईनल खेलमा भने २०० रुपैंया टिकट दर राखिएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक पहिलो संस्करणदेखि हालसम्म नपाईएको समेत आयोजकले गुनासो गरेका छन् । मधेश प्रदेशमै मुलुकभरका ठूला उद्योग कलकारखाना भएपनि मधेश प्रदेशकै प्रतिष्ठित प्रतियोगितालाई मुख्य प्रायोजन गर्न त्यस्ता उद्योग कलकारखाना नआउनुले आफूहरु अचम्ममा परिरहेको समेत अध्यक्ष मैनालीले गुनासो गरे । त्यस्तै प्रतियोगितामा बागमती ह््युम पाईप उद्योग, पृथ्वी ईन्जिनियरिङ्ग एण्ड विल्डर्स काठमाडौं र होटल सिता प्यालेस बागमतीले भने सहयोगी संस्थाको रुपमा भूमिका निर्वाह गरिरहेको भन्दै अध्यक्ष मैनालीले धन्यवाद प्रकट गरे । मधेश प्रदेश सहित सर्लाहीकै शान भएकाले राजर्षि जनक कप फूटबल प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि सबै पक्ष, तह र तप्कालाई यथाशक्य सहयोग गर्न समेत आग्रह गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि बागमती नगरपालिकाकी उपप्रमुख लिला कुमारी मोक्तानले सर्लाही सहित बागमतीको गहना भएकाले राजर्षि जनक कप फूटबल प्रतियोगिता सफल रुपले सम्पन्न गर्नका लागि नगरपालिकाको तर्फबाट हदैसम्मको प्रयास भईरहेको दाबी गरिन् । उनले सरकारी एवं गैर सरकारी क्षेत्रका सबै पक्ष, तह र तप्कालाई प्रतियोगिता सफलताका लागि हातेमालो गर्न आग्रह समेत गरिन् ।