सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योगको यार्डमा उखु बोकेका सबारी साधनको लाम । (फाईल तस्बिर : उज्यालो अभियान)
हरिवन – उखु अभाव भएपछि सर्लाहीका दुईवटा चिनी उद्योग यो वर्ष बेलैमा बन्द भएका छन् ।
जिल्लाको महालक्ष्मी चिनी उद्योग बगदह र अन्नपूर्ण चिनी उद्योग धनकौल छोटो समय सञ्चालन भएका बन्द भएका हुन् । भारतीय सीमावर्ती क्षेत्र नजिकै रहेको महालक्ष्मी चिनी उद्योग बगदह यो वर्ष आठ लाख ३८ हजार क्विन्टल उखु पेलेर सोमबार बिहानदेखि बन्द गरिएको उद्योगका उखु प्रवन्धक शियाराम साहले जानकारी दिए ।
उद्योगले यो वर्ष १५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भएपनि उखु नपाएपछि लक्ष्य पूरा नभइ उद्योग बन्द गर्नुपरेको उद्योगका उखु प्रवन्धक साहले बताए । उद्योगले माघ १६ गतेसम्म किसानबाट खरिद गरिएको उखुको भुक्तानि गरिसकेको र बाँकी रकम पनि भुक्तानिको चरणमा रहेको जनाएको छ ।
त्यस्तै, गत वर्ष बन्द भएर यस वर्षबाट संचालनमा आएको जिल्लाको पश्चिमी क्षेत्र स्थित अन्नपूर्ण चिनी उद्योग धनकौल एक हप्तामै बन्द भएको छ । उद्योगले पर्याप्त उखु नपाएका कारण यो वर्ष जम्मा ४० हजार क्विन्टल उखु क्रसिङ गरेर बन्द गरिएको उद्योगका सञ्चालक शैलेन्द्र गुप्ताले बताए । उनले यो वर्ष उद्योगको स्वामित्व आफूहरुले लिएपछि परीक्षणकै क्रममा थोरै परिमाणमा उखु क्रसिङ गरिएको र अर्को वर्षबाट उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्ने बताएका छन् ।
त्यसैगरी, जिल्लाको उत्तरी भेगस्थित इन्दुशंकर चिनी उद्योग हरिवनले भने अहिले पनि उखु क्रसिङ गरिरहेको छ । यो उद्योगले पनि पर्याप्त उखु नपाएका कारण दुईवटा मेसिनमध्ये एउटामात्रै संचालन गरिरहेको उद्योगका उखु प्रवन्धक योगनारायण रजकले जानकारी दिए । उनका अनुसार उद्योगले हालसम्म २२ लाख ४५ हजार क्विन्टल उखु क्रसिङ गरिसकेको छ ।
चैत पहिलो हप्तासम्म उद्योग चलाएर बन्द गर्ने तयारी रहेको उखु प्रवन्धक रजकले बताए । उहाँका अनुसार इन्दुशंकरले किसानलाई फागुन ६ गतेसम्म खरिद गरिएको उखुको भुक्तानि गरिसकेको जनाएको छ ।