सदरमुकाम मलंगवास्थित कांग्रेस अधिवेशनस्थल पब्लिक माविको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र मतदानका लागि लामवद्ध कार्यकर्ताहरु । तस्बिर : उज्यालो अभियान
मलंगवा – नेपाली कांग्रेस सर्लाहीको नयाँ नेतृत्व चयन गर्न सोमबार मतदान हुँदै छ ।
सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिएपनि मध्यान्ह १२ः३० बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन् । निर्वाचन समितिले केही प्राविधिक समस्या भएकाले मतदान सुरु हुन ढिलाई भएको जनाएको छ ।
मतदान गर्नका लागि मतदाताहरु ९ बजेदेखि नै लामवद्ध भएर बसिरहेका छन् । तर कतिबजेदेखि मतदान सुरु हुने भन्ने टुंगो लागेको छैन् ।
अधिवेशनमा भाग लिन जिल्लाभरबाट कांग्रेसका नेता कार्यकर्ता सदरमुकाम मलंगवामा पुगेका छन् । मतदान सुरु हुन ढिला भएकाले बेलुका ५ बजेसम्म भनिएको मतदानको समय पनि लम्बिने देखिएको छ । बेलुका मतदान सक्किनासाथ मतगणना सुरु गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
आजको निर्वाचनमा सर्लाहीको २० वटा पालिकाका २०० वटा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले मत खसाल्न पाउने छन् । त्यसका लागि जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात मतदाताहरु रहेका छन् ।
नेपाली काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा छन् ।