मलंगवा – नेपाली कांग्रेस सर्लाहीको नयाँ नेतृत्व चयन गर्न आज (साेमबार) मतदान हुँदैछ ।
सदरमुकाम मलंगवास्थित पब्लिक माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिका सहसंयोजक धीरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार मतदानका लागि मतदान स्थल तय गर्ने, मतपत्र छाप्ने लगायतका सम्पूर्ण तयारीको काम पूरा भइसकेको छ ।
सर्लाहीको २० वटा पालिकाका २०० वटा वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले मत खसाल्न पाउने छन् । त्यसका लागि जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात मतदाता रहेका छन् । बेलुका मतदान सक्किनासाथ मतगणना सुरु गर्ने गरी निर्वाचन समितिले तयारी गरेकाे समितिका सहसंयोजक चौधरीले जानकारी दिए ।
नेपाली कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवाको खेमाबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला खेमाबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । पार्टीको १४ औँ जिल्ला अधिवेशन अन्तर्गत सभापतिमा बहालवाला जिल्ला उपसभापति सिंह र पूर्व जिल्ला सभापति रायबीच कडा प्रतिस्पर्धा हुँदैछ । सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुमा पनि दुवै पक्षले प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ ।
संस्थापन पक्षबाट उपसभापतिमा डा. सरोज कुमार (राजु) र शेष साहदुल्लाह, सचिवमा निरज कार्की र मनोज कुमार यादव, सहसचिवमा सुनिल कुमार कुशवाहा र इन्द्र योञ्जनले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै, संस्थापन इतर पक्षबाट उपसभापतिमा नवीन अधिकारी र रविनन्दन चौधरी (पप्पु), सचिवमा नरेन्द्र भट्टराई र कृष्णराज रायमाझी, सहसचिवमा दिनेश मिश्र र सूर्य खड्काले उम्मेदवारी दिएका छन् । सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । आईतबार राती अबेरसम्म दुवै पक्षले घरदैलो सहित गाउँ-गाउँ घुमेर व्यापक प्रचारप्रसार गरेका छन् ।
यसैबीच, चुनावको मुखैमा आएर विभिन्न नेताहरुले आफ्नो क्याम्प परिवर्तन गरेका छन् । बहालबाला उपसभापति रामवली राय सस्थापन ईतरबाट केही दिनअघि मात्र संस्थापन पक्षमा गएका छन् भने अघिल्लाे अधिवेशनदेखि संस्थापन पक्षमा रहेका क्षेत्र नं. १ का निवर्तमान क्षेत्रीय सभापति एवं महाधिवेशन प्रतिनिधि प्रमोद बराल संस्थापन इतर समूहसँग नजिकिएका छन् ।
त्यसैगरी, लामाे समयदेखि संस्थापन पक्षमा रहेका नेता हरेस महताे केही दिनअघि मात्र संस्थापन ईतरमा ढल्किएका छन् भने संस्थापन ईतर रहेका बागमती नगरपालिकाका नगर सभापति दीपक कुमार रानाभाट हिजाे आईतबारबाट संस्थापन पक्षका उम्मेद्वारहरुकाे प्रचारप्रसारमा जुटेका छन् ।