जिल्ला सभापतिका उम्मेद्वारद्वय क्रमशः बायाँबाट लक्ष्मण राय र सुरेन्द्र प्रसाद सिंह ।




मलंगवा – नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति एवं कार्यसमितिका पदाधिकारी सहित जिल्ला नेतृत्व चयनका लागि भोली (सोमबार) मतदान हुँदैछ । जिल्ला सभापति सहितको नेतृत्वका लागि संस्थापन शेर बहादुर देउवा र संस्थापन ईतर शेखर कोइराला पक्षले प्यानल नै खडा गरेका छन् ।




जिल्ला सभापतिमा संस्थापन पक्षबाट हालका जिल्ला उपसभापति सुरेन्द्र प्रसाद सिंह तथा संस्थापन ईतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले उम्मेद्वारी दर्ता गराएका छन् । उपसभापतिमा संस्थापन पक्षबाट दुईजना क्रमशः शेख सदहदुल्ला र डा. सरोज कुमार (राजु)को उम्मेद्वारी परेको छ भने संस्थापन ईतरबाट नविन अधिकारी र रविनन्दन् चौधरी (पप्पु)को उम्मेद्वारी परेको छ ।
सहदुल्ला क्षेत्र नं. १ प्रदेश ख बाट प्रदेश सभा सदस्यका प्रत्यासी थिए भने क्षेत्र नं. २ का डा. सरोज जिल्ला सभापति नागेन्द्र कुमार रायका छोरा हुन् । त्यस्तै क्षेत्र नं. ३ अन्तर्गत बरहथवा निवासी अधिकारी हालका जिल्ला सचिब हुन् भने क्षेत्र नं. ४ का पप्पु तत्कालिन जिल्ला सचिव हुन् ।
त्यस्तै सचिवमा संस्थापन पक्षबाट निरज कार्की र मनोज यादव तथा संस्थापन ईतरबाट नरेन्द्र भट्टराई र कृष्ण राज रायमाझीको उम्मेद्वारी परेको छ । क्षेत्र नं. ३ हरिवन निवासी कार्की पार्टी भित्र ज्येष्ठदेखि युवाहरुसम्म निकै लोकप्रिय छन् । हरिवन नगर समितिको सचिव समेत रहेका कार्की सानै उमेरदेखि खेलकुद होस् वा अन्य जुनसुकै क्षेत्र मार्फत पार्टी संगठन विस्तारमा सकृय छन् भने क्षेत्र नं. २ नोकेल्वा निवासी यादव कांग्रेसमा लडाकु युवाको रुपमा परिचित छन् ।
त्यस्तै शिक्षा क्षेत्रबाट आएका क्षेत्र नं. ३ कै हरिवन निवासी भट्टराई उक्त गुटभित्र लडाकुको रुपमा परिचित छन् भने क्षेत्र नं. ३ कै बागमती निवासी रायमाझी २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा बागमती नगरपालिकामा कांग्रेसको तर्फबाट मेयरका प्रत्यासी हुन् । हरेस महतो निकट रायमाझी यसअघिका निर्वाचनमा संस्थापन पक्षमै भएपनि जिल्ला अधिवेशनमा भने संस्थापन ईतरबाट सचिवको उम्मेद्वार बने ।
त्यसैगरी सहसचिवमा संस्थापन पक्षबाट ईन्द्र योञ्जन र मनोज कुमार कुशवाहा तथा संस्थापन ईतरबाट दिनेश मिश्र र सूर्य खड्काले उम्मेद्वारी दिएका छन् । सभापति र जिल्ला कार्यसमितिको पदाधिकारीसहित ९३ पदमा हुने निर्वाचनमा हरेक पदमा दुवै पक्षबाट उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । ३ हजार दुईसय ८५ मतदाता रहेको जिल्लामा सोमबार विहान ९ बजेदेखि ५ बजेसम्म सदरमुकाम मलंगवास्थित पव्लिक मावीमा हुने निर्वाचन समिति सहसंयोजक धीरेन्द्र चौधरीले जानकारी दिए ।
हाल दुवै पक्षले घरदैलो सहित व्यापक प्रचारप्रसार गरिरहेका छन् । गाउँगाउँका नेता एवं नेतृत्व चयनका लागि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरुको घर–घरमा दुवै प्यानलका नेताहरु सहित गाडीको लावालस्कर लाग्ने गरेको छ । नेकपा एमाले, माओवादी केन्द्र लगायत ठूला कम्युनिष्ट पार्टीहरुको प्रदेश स्तरीय अधिवेशन नै गुपचुपमा नेतृत्व चयन गरेर सकिने भएपनि कांग्रेसको भने वडा तहको अधिवेशन देखि नै नेतृत्व चयनमा प्रतिष्पर्धा एवं ठूलै तामझाम हुने गरेको छ । ‘कम्युनिष्टहरुको जस्तो टीके नेतृत्व कांग्रेसमा सम्भव नै छैन’, एक कांग्रेस नेताले भने, ‘त्यसैले त कांग्रेस क्याडरबेस नभई मासबेस पार्टी रहिरहन्छ ।’
२३ गते जिल्ला अधिवेशन भएपछि फागुन २९ देखि ३० गतेसम्म पालिकाहरुको अधिवेशन गर्ने सहमती भइसकेको छ । यसअघि अस्ती बिहीबार निकै विवादित बनेको बलरा नगरपालिका वडा नंं। ८ र ९ मा सर्वसम्मतीबाट वडा अविधेशन गरेर नेतृत्व चयन गरिएको थियो । मंसिर अन्तिममै हुनुपर्ने कांग्रेस सर्लाहीका दुवै पक्षको विवादका कारण पटक(पटक सरेको थियो भने दुईजना निर्वाचन अधिकृत त अधिवेशन गराउनै नसकेर फर्कीएका थिए । तत्कालिन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेले त कांग्रेस नेता कार्यकर्ताबाट कुटाई समेत खानु पर्यो । जिल्ला अधिवेशन नहुने अवस्था देखिएपछि हतार हतार वडा र क्षेत्रको मात्र अधिवेशन गरेर केन्द्रीय महाधिवेशन तथा प्रदेश क र ख को अधिवेशन गरेर सर्लाहीका कांग्रेसी नेताहरुले प्रदेश महाधिवेशनमा भाग लिएका थिए ।