logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस जिल्ला अधिवेशन : आज उम्मेद्वारी दर्ता, पर्सी मतदान्


  • उज्यालो अभियान

मलंगवा – नेपाली कांग्रेस सर्लाहीको जिल्ला अधिवेशन अन्तर्गत आज शनिबार उम्मेद्वारहरुको मनाेनयन दर्ता गरिँदै छ ।

उम्मेद्वारहरुका लागि शनिबार बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म मनाेनयनकाे समय छुट्याइएको सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीले जानकारी दिए । उम्मेद्वारी दर्ता अघि बिहान मलंगवास्थित जिल्ला पार्टी कार्यालयमा मतदाताहरुको नामावली टाँसिएको छ । कांग्रेस सर्लाहीको जिल्ला अधिवेशनको मतदान् भने पर्सी २३ गते साेमबार हुने छ । पब्लिक मावि मलंगवामा मतदान गराउने सहमती भएको सहायक निर्वाचन अधिकृत चौधरीले बताए ।

कांग्रेस सर्लाहीको भावि नेतृत्वका लागि संस्थापन पक्ष अर्थात शेरबहादुर देउवा प्यानलबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात् शेखर काेइराला पक्षबाट लक्ष्मण राय सभापतिको दाबेदार छन् । दुवै पक्षले घरदैलाे सहित व्यापक प्रचारप्रसार गरिरहेका छन् । गाउँगाउँका नेता एवं नेतृत्व चयनका लागि मतदाता रहेका क्षेत्रीय प्रतिनिधिहरुकाे घर-घरमा दुवै प्यानलका नेताहरु सहित गाडीकाे लावालस्कर लाग्ने गरेकाे छ । नेकपा एमाले, माओवादी केन्द्र लगायत ठूला कम्युनिष्ट पार्टीहरुकाे प्रदेश स्तरीय अधिवेशन नै गुपचुपमा नेतृत्व चयन गरेर सकिने भएपनि कांग्रेसकाे भने वडा तहकाे अधिवेशन देखि नै नेतृत्व चयनमा प्रतिष्पर्धा एवं ठूलै तामझाम हुने गरेकाे छ । ´कम्युनिष्टहरुकाे जस्ताे टीके नेतृत्व कांग्रेसमा सम्भव नै छैन, एक कांग्रेस नेताले भने, ´त्यसैले त कांग्रेस क्याडरबेस नभई मासबेस पार्टी रहिरहन्छ ।

२३ गते जिल्ला अधिवेशन भएपछि फागुन २९ देखि ३० गतेसम्म पालिकाहरुको अधिवेशन गर्ने सहमती भइसकेको छ । यसअघि अस्ती बिहीबार निकै विवादित बनेको बलरा नगरपालिका वडा नंं. ८ र ९ मा सर्वसम्मतीबाट वडा अविधेशन गरेर नेतृत्व चयन गरिएको थियो । मंसिर अन्तिममै हुनुपर्ने कांग्रेस सर्लाहीका दुवै पक्षकाे विवादका कारण पटक-पटक सरेकाे थियाे भने दुईजना निर्वाचन अधिकृत त अधिवेशन गराउनै नसकेर फर्कीएका थिए । तत्कालिन निर्वाचन अधिकृत दिवाकर राज पाण्डेले त कांग्रेस नेता कार्यकर्ताबाट कुटाई समेत खानु पर्याे । जिल्ला अधिवेशन नहुने अवस्था देखिएपछि हतार हतार वडा र क्षेत्रकाे मात्र अधिवेशन गरेर केन्द्रीय महाधिवेशन तथा प्रदेश क र ख कने अधिवेशन गरेर सर्लाहीका कांग्रेसी नेताहरुले प्रदेश महाधिवेशनमा भाग लिएका थिए ।