logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस अधिवेशन : यसअघि गाेली चलेकाे बलरामा आज भने सर्वसम्मत्


  • उज्यालो अभियान

बलरा – निकै लामो विवादपछि सर्लाहीको बलरा नगरपालिकाका दुईवटा वडामा विहिबार नेपाली कांग्रेसको वडा अधिवेशन शान्तपूर्वक रुपमा सम्पन्न भएको छ ।

दुई पक्षबीचको विवादले क्षेत्र नं. ४ मा पर्ने बलरा नगरपालिकाको वडा नं. ८ गडहीया र वडा नं. ९ अचलगढमा कांग्रेसको वडा अधिवेशन नै हुन सकेको थिएन् । दुवै ठाउँमा गएको मंसिर १२ र १३ गते वडा अधिवेशन गराउन खोज्दा गोली नै चलेको थियो । झडपमा परी मतदान अधिकृत, सुरक्षाकर्मी र पार्टीका नेता कार्यकर्ता समेत घाईते भएका थिए ।

दुई महिनाअघि झडप भएर वडा अधिवेशन नै रोकिएको त्यही ठाउँमा विहिबार सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको हो ।वडा समिति र वडाबाट छानिएर आउने क्षेत्रीय प्रतिनिधिमा दुवै पक्षले भागबण्डा मिलाएर वडा अधिवेशनको विवाद टुंग्याएका हुन् ।

वडा नं. ८ गहडीयामा संस्थापन इतर पक्षका छितनु साह वडा सभापति बनेका छन् । सो वडामा संस्थापन पक्षले ९ जना क्षेत्रीय प्रतिनिधि पाएको छ भने संस्थापन इतर पक्षले वडा सभापतिसहित ७ जना क्षेत्रीय प्रतिनिधि लिएको छ ।

त्यसैगरी वडा नं. ९ अचलगढमा पनि संस्थापन इतर पक्षले नै सभापति लिएको छ । त्यहाँ वडा सभापतिमा प्रमोद चौधरी चुनिएका छन् । संस्थापन इतरले सभापतिसहित ४ जना क्षेत्रीय प्रतिनिधि लिएर १२ जना क्षेत्रीय प्रतिनिधि संस्थापन पक्षलाई दिएको छ ।

गडहीयास्थित इलाका प्रहरी कार्यालयको छेउमै संस्थापन पक्षबाट प्रदेश सरकारका मन्त्री समेत रहेका नेता वीरेन्द्र प्रसाद सिंह र संस्थापन इतर पक्षबाट नेता कौशलकिशोर राय बसेर दुवै वडाको विवाद समाधान गरी भागबण्डा मिलाउँदै वडा अधिवेशन गराएका हुन् ।

ती दुवै वडामा सहमती हुन नसके आज उम्मेदवारहरुको मनोनयन दर्ता गराएर भोली शुक्रबार मतदान गराउने तयारी थियो । बुधबार साँझ लालबन्दीमा सहायक निर्वाचन अधिकृत धीरेन्द्र चौधरीको रोहबरमा संस्थापन र संस्थापन ईतर पक्षबीच भएको छलफलमा २० गते बलराको दुई वटा वडाको मतदान गराउने, २३ गते जिल्ला अधिवेशन गराउने र ३० गते पालिकाहरुको अधिवेशन गराउने सहमती भएकाे थियो ।

सो सहमती अनुसार २३ गते लालबन्दी वा मलंगवामा जिल्ला अधिवेशन हुने भएको छ । लालबन्दीमा गराउँदा जनज्योति मावि र मलंगवामा गराउँदा पब्लिक माविलाई मतदान स्थल बनाउने तयारी भइरहेको सहायक मतदान अधिकृत चौधरीले जानकारी दिए । कांग्रेस सर्लाहीको जिल्ला सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतरबाट पूर्व जिल्ला सभापति लक्ष्मण राय सभापतिको दाबेदार छन् ।