हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा बुधबारबाट अन्तर प्रादेशिक स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।
लक्ष्मीनाथ यूवा क्लब चितायनको आयोजनामा सुरु प्रतियोगितामा हेटौंडा र एभरेष्ट एकेडेमीले बिजयी सुरुवात गरेका छन् । बुधबार भएको उद्घाटन खेलमा हेटौंडाले संघर्षशील यूवा क्लब हरिपुर २ लाई २५–१७ र २५–१३ को सेटमा पराजित गर्यो ।
त्यस्तै, दोस्रो खेलमा एभरेष्ट एकेडेमी लालबन्दीले जनशक्ति युवा क्लब कोल्बी बारालाई २८–२७ र २५–२१ को सेटमा पराजित गरेको छ । प्रतियोगितामा बिहीबार नयाँबजार काठमाण्डौंले न्यू एभरेष्ट यूवा क्लब बडकुर्वा सर्लाही, प्रदेश प्रहरी जनकपुरले नवलपुर जिल्ला नवलपरासी र ग्लोबल निर्माण सेवा समाज गैरले आजको बिजेता एभरेष्ट एकेडेमी लालबन्दीसँग प्रतिस्पर्धा गर्ने छन् ।
आयोजक लक्ष्मीनाथ यूवा क्लबका अध्यक्ष नरहरि धामीको अध्यक्षता तथा मधेस प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको प्रतियोगितामा हरिपुर नगरपालिकाका मेयर जमिरुदिन मन्सुर, संविधान सभा सदस्य रामचन्द्र चौधरी लगायतको आतिथ्यता रहेको थियो । फागुन २१ गते फाइनल खेल हुने प्रतियोगिताको बिजेताले ७५ हजार र उपबिजेताले ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा ७ वटा क्लबको सहभागिता रहेको छ ।
फोटो क्याप्सन : भलिबल प्रतियोगिता उद्घाटन समरोहमा उपस्थित अतिथिहरु । (तस्बीर : उज्यालो अभियान)