लालबन्दी – नेपाली काँग्रेस सर्लाहीको जिल्ला अधिवेशन अनिश्चित बनेको छ ।
क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिकाको दुईवटा वडाको अधिवेशनलाई लिएर विवाद हुँदा जिल्ला अधिवेशन नै प्रभावित बनेको हो । बलरा नगरपालिकाको वडा नं. ९ अचलगढ र वडा नं. ८ गडहीयामा हालसम्म वडा अधिवेशन हुन सकेको छैन् ।
अचलगढमा मङ्सिर १२ गते वडा अधिवेशन गराउने क्रममा दुई पक्षबीच विवाद भएपछि गोली नै चलेको थियो । त्यसबेला काँग्रेसको दुई समूहबीच झडपको स्थिति सिर्जना भएपछि वडा अधिवेशनस्थलमा पुग्नुभएका प्रदेश सरकारका महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र प्रसाद सिंहको अङ्ग रक्षकले गोली चलाएका थिए ।
त्यस्तै, गडहीयामा पनि मङ्सिर १३ गते वडा अधिवेशन गराउन खोज्दा दुई पक्षबीच विवाद भइ झडप नै भएको थियो । सो झडपमा परेर मतदान अधिकृत उमेशचन्द्र झासहित चार प्रहरी र आधा दर्जन बढी पार्टी कार्यकर्ता घाइते भएका थिए ।
तीन महिनाअघि भएको झडपपछि बलराको ती दुई वडामा काँग्रेसले वडा अधिवेशन गराउनै सकेको छैन् । यसअघि दुईवटा वडाको अधिवेशन थाती राखेर प्रदेश निर्वाचन क्षेत्र र सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशन गराइएको थियो ।
जिल्लामा अझै बलरा नगरपालिकाको दुईवटा वडाको वडा अधिवेशन, २० वटा पालिकाको पालिका अधिवेशन र जिल्ला अधिवेशन हुन बाँकी छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले सर्लाही काँग्रेसको जिल्ला अधिवेशन गराउन खटाएको निर्वाचन अधिकृत नागेश्वर सिंहले बलराको दुईवटा वडाको अधिवेशन गराउन दुवै समूहबीच सहमती जुटाउने प्रयास गरिरहेको उज्यालो अभियानसँग बताए ।
संस्थापन पक्ष अर्थात् जिल्ला सभापति नागेन्द्र कुमार राय पक्षले बलराका दुईवटा वडाको अधिवेशन सदरमुकाम मलङ्गवामा गर्नुपर्ने र संस्थापन इतर अर्थात पूर्व जिल्ला सभापति लक्ष्मण राय पक्षले भने सम्वन्धित वडामै अधिवेशन गराउनुपर्ने अडान लिएपछि विवाद भएको हो । जिल्ला सभापति नागेन्द्र कुमार रायले बारम्बार झडप भएर वडा अधिवेशन गर्न नसकिएकाले सुरक्षालाई ख्याल गर्दै बलराका दुईवटा वडाको अधिवेशन सदरमुकाम मलङ्गवामा गर्न आफूहरुले निर्वाचन अधिकृतसँग आग्रह गरेको बताए ।
सङ्घीय सांसद समेत रहेका रायले संसद बैठकमा सहभागी भएर आफू सोमबार मात्रै जिल्ला फर्किएको र अधिवेशनबारे अब निर्वाचन अधिकृतसँग समन्वय गर्ने उज्यालो अभियानसँग बताएका छन् । पूर्व जिल्ला सभापति लक्ष्मण रायले भने सबै कार्यकर्तालाई सदरमुकामसम्म आएर मतदान गर्न अनुकूल नहुने भएकाले वडामै वडा अधिवेशन हुनुपर्ने बताए ।
तर यसअघि संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति राय पक्षले नै २ नम्वर क्षेत्रको ३ वटा वडाको अधिवेशन सदरमुकाम मलंगवामा ल्याएर गराएको थियो । कांग्रेस सर्लाहीको सभापतिमा संस्थापन पक्षबाट सुरेन्द्र कुमार सिंह र संस्थापन इतर समूहबाट पूर्व जिल्ला सभापति लक्ष्मण रायले प्रचारप्रसार तीव्र पारेका छन् ।
अहिलेका जिल्ला सभापति नागेन्द्र कुमार राय पनि पुनः जिल्ला सभापतिमा आकाक्षी भएपनि उनी क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका थिए ।