बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–१५, पिप्राभित्तामा रहेको जनता आधारभूत विद्यालयमा निर्माण गरिएको नयाँ विद्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ ।
संघीय सरकारको १८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको विद्यालय भवनको संविधान सभाका सदस्य हरि उप्रेतीले उद्घाटन गरेका हुन् । अधिकांश दलित र आदिवासी समुदायका बालबालिका अध्ययनरत सो विद्यालयमा आफूले नै पहल गरेर दुईवटा ठूला कोठा निर्माण गराएको संविधान सभाका सदस्य उप्रेतीले बताए ।
विद्यालय व्यवस्थापन समिति नरहेकाले स्थानीय हरेन्द्र पासवानलाई अध्यक्षता ग्रहण गराई आयोजना गरिएको विद्यालय भवन उद्घाटन कार्यक्रममा तीन दशक बढी विद्यालयमा अध्यापन गराई अवकाश पाएका शिक्षक द्वोय जितनारायण चौधरी र चन्देश्वर महतोलाई विद्यालयको तर्फबाट शुक्रबार सम्मानका साथ विदाई गरिएको विद्यालयका प्रधानाध्यापक रमेश कार्कीले जानकारी दिए ।
फोटो क्याप्सन : विद्यालय भवनको उद्घाटन गरिँदै । (तस्बीर : उज्यालो अभियान)