logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

माधव नेपालले भने, ‘एमसीसी ल्याएकै केपी ओलीले हो’


  • उज्यालो अभियान

आईतबार साँझ सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित सुरेन्द्र लामाको निवासमा कार्यकर्ताहरुले घेरिएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेकपा एकीकृत समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालले हाल नेपालका जनजनमा बहस भईरहेको एमसीसी नेकपा एमालेका अध्यक्ष केपी ओलीले नै ल्याएको जिकिर गरेका छन् ।

आईतबार साँझ सर्लाहीको हरिवन स्थित घुर्कौलीमा पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले आफूहरुको विरोध हुँदाहुँदै तत्कालिन प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले एमसीसी संसदमा दर्ता गरेको आरोप लगाए । ‘हाँमीले तिब्र विरोध गर्दा गर्दै तत्कालिन नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद्मा एमसीसी दर्ता गरे’, नेता नेपालले भने, ‘त्यसैले आज पार्टी फुटेको हो ।’

तत्कालिन नेकपाका अध्यक्ष एवं हाल नेकपा एमालेका अध्यक्ष केपी ओलीले नै संसद्मा दर्ता गरेको एमसीसी हालको सरकारले छलफलका लागि टेबुल गरेको उल्लेख गर्दै नेता नेपालले सार्वभौमसत्ता संघीय संसद्मा एमसीसीका बारेमा गहन छलफल हुनुपर्ने आफ्रहरुको धारणा रहेको बताए । ‘हाँमी यत्रो ठूलो बहस बनेको एमसीसी सार्वभौम संसद्बाटै छलफल गरेर टुंग्याउने पक्षमा छौं’, पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ंपास गर्ने हैन कि छलफल गर्ने भन्ने मात्र हाम्रो धारणा हो ।’

सत्तामा बसेर पनि आफ्नै पार्टीका कार्यकर्ताले विरोध प्रदर्शन गर्ने अनि प्रहरीले गोली प्रहार गर्ने घटना हुनु दुःखद् हैन र भन्ने पत्रकारहरुको प्रश्नमा नेता नेपालले भने, ‘नेता कार्यकर्ताहरुले जनताको भावना व्यक्त गरेका होलान्, कार्यकर्ताहरुले एमसीसी पास गर्नु हुदैन भनेका हुन्, संसद्मा टेबुल नै गर्नु हुदैन भनेका छैनन् ।’ विशुद्ध आर्थिक सम्झौता बाहेक अन्य प्राविधिक कुराहरुमा सम्झौता गर्न नसकिने समेत नेता नेपालले जानकारी दिए । एमसीसीको अमेरिकाले नै अडिट गर्ने, रोजगारीमा पनि नेपालीलाई बन्देज गर्ने लगायत कुराहरुमा पनि आफूहरुको असहमति रहेको र यावत बुँदाहरु कायम रहे एमसीसीको पक्षमा आफूहरु नरहेको नेता नेपालले बताए ।

गठबन्धन जोगाउने नजोगाउने प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेस पार्टीमा निहित रहेको नेता नेपालले बताए । ‘वर्तमान सत्तागठबन्धन जोगाउने नजोगाउने प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाजीको हातमा छ’, नेता नेपालले भने, ‘एउटै पार्टी भित्र त नेताहरुबीच कुरा मिल्दैन अनि फरक पार्टीका नेताहरुबीच कसरी कुरा मिल्छ र ?’

एमसीसीका विषयमा अनावश्यक हल्ला चर्किएको समेत नेता नेपालले बताए । ‘एमसीसी आए नेपालमा अमेरिका आउँछ भन्ने लगायत अनावश्यक हल्ला चलेको छ’, नेता नेपालले भने, ‘अनावश्यक हल्लाका पछि लागेर जुनसुकै पार्टीका नेता कार्यकर्ताहरु विरोध प्रदर्शन सहित ढुंगामुढामा उत्रिनु लगायत त्यो तहसम्म जानु आवश्यक छैन ।’

नेता नेपाल नेकपा एकीकृत समाजवादी पार्टीका सर्लाही जिल्ला अध्यक्ष सुरेन्द्र लामाको छोराहरु नविन लामा र प्रविन लामाको वैबाहिक प्रितिभोजमा सहभागि हुन आईतबार साँझ सर्लाहीको हरिवन आईपुगेका हुन् ।