मलंगवा – नेकपा एमाले सर्लाहीको अध्यक्षमा पुन: राजनारायण साह चयन भएका छन् ।
शनिबार साँझ सदरमुकाम मलंगवामा सम्पन्न ८ औँ जिल्ला अधिवेशनबाट साहसहित ५ जना पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन गरिएको हो । अध्यक्षमा साहसहित उपाध्यक्षमा विदुर कुमार प्याकुरेल, सचिवमा केदार खत्री र उपसचिवमा प्रकाश थापा र पार्वती विश्वकर्मा चयन भएका छन् ।
१३५ सदस्यीय जिल्ला कमिटीमध्ये शनिबार ५ जना पदाधिकारीहरु चयन गरिएको र बाँकी सदस्यहरु अध्यक्ष मण्डलले केही दिनभित्रै घोषणा गर्ने छ । एमाले सर्लाहीको जिल्ला कमिटी घोषणा गर्न ८ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । जसमा केन्द्रीय सदस्यहरु कमला देवी महतो, रन्जना सरकार, रीना साह, कल्पना कटुवाल, बद्री न्यौपाने, रामऔतार यादव र प्रदेश उपाध्यक्ष रेवती पन्त रहेका छन् ।
यसअघि जिल्ला कमिटी अध्यक्ष रेवती पन्त संसद पुनर्स्थापनाकाे पक्षमा लागेपछि केपी ओेली पक्षले साहलाई अध्यक्ष तथा माओवादीबाट एमालेतिर आएका खत्रीलाई सचिब ताेकेर जिल्ला कमिटी घाेषणा गरेकाे थियाे । अधिवेशनले पनि मुख्य पदाधिकारीमा साह र खत्रीलाई नै दाेहाेर्याएकाे छ । एमाले सर्लाहीको जिल्ला अध्यक्षमा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले समेत दावी गर्ने चर्चा भएपनि सर्वसम्मत भएपछि प्रसाईले दाबी पेश गरेनन् । फागुन ७ र ८ दुई दिन अधिवेशन हुने भनेर ताेकिएपनि अध्यक्षमण्डलले नाम पढेर सुनाएपछि एमाले जिल्ला अधिवेशनकाे बन्दशत्र केही घण्टामै सम्पन्न भएकाे छ ।
एमाले सर्लाहीको ८ औँ जिल्ला अधिवेशनको शनिबार मध्यान्ह पार्टीका महासचिव शंकर पोखरेलले उद्घाटन गरेका थिए । अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि महासचिव पोखरेलले संसदमा अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पेश भए एमाले सो प्रक्रियामा सामेल नै नहुने बताए । पोखरेलले प्रक्रियामै सामेल नहुने भएपछि एमालेले एमसीसीबारे के गर्छ ? भन्ने प्रश्नको अर्थ नहुने बताए । उनले नेकपा एमालेले कारवाहीको सिफारिस गरेका माधव कुमार नेपालसहितका १४ सांसदलाई कारवाही गरेको सूचना प्रकाशन नगरेसम्म अहिलेका सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा हुने संसदको बैठकमा सामेल नहुने निर्णयमा एमाले दृढ रहेको उल्लेख गरेका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा एमालेका केन्द्रीय सचिव रघुवीर महासेठ, मधेस प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादव लगायतले मन्तव्य राखेका थिए ।
फोटो क्याप्सन : अध्यक्षमा निर्वाचित राजनारायण साह (बायाँबाट पहिलो)सहित अन्य पदाधिकारीहरु । (तस्बीर : उज्यालो अभियान)