logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

एमाले सर्लाही नेतृत्व चयनका लागि भाेली जिल्ला अधिवेशन हुँदै


  • उज्यालो अभियान

हरिवन – नेकपा एमाले सर्लाहीको आगामी नेतृत्व सर्वसम्मत रुपमा चयन गर्ने प्रयास थालिएको छ ।

फागुन ७ र ८ गते सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा तय गरिएको पार्टीको आठौँ जिल्ला अधिवेशनबाट सहमतीमै नेतृत्व छान्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् । अहिलेका अध्यक्ष राजनारायण साहकै नेत्तृत्वमा नयाँ जिल्ला कमिटी घोषणा गर्ने तयारी भइरहेको बुझिएको छ ।

यद्यपी हरिवन नगरपालिकाका मेयर रहेका नेता गणेश प्रसाद प्रसाईंले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । मेयर प्रसाईंले बिहीबार उज्यालो अभियानसँगको कुराकानीमा आफूले अध्यक्षमा उम्मेदवारी दिने बताएका हुन् । फेरिपनि हरिवन नपामा मेयरका आकांक्षी रहेका प्रसाईंले सर्वसम्मत हुने अवस्थामा भने आफू बाधक नबन्ने बताएका छन् । हालका जिल्ला अध्यक्ष साहलाई केन्द्रीय सदस्य बद्री न्याैपाने, कमलादेवी महताे, हरि उप्रेती लगायतले समर्थन गरेका छन् भने प्रसाईंलाई प्रदेश उपाध्यक्ष रेवती पन्त, जिल्ला सहसचिब विदुर प्याकुरेल लगायतले अगाडि सारेकाे एक एमाले नेताले बताए ।

जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमाले सर्लाहीका सहसचिव प्याकुरेलले जानकारी दिए । उद्घाटन समारोह सम्पन्न भएलगत्तै बन्दसत्र सुरु हुनेछ ।

जिल्ला अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना सहसचिव रहेको पाँच पदाधिकारीसहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिने छ । नवगठित कमिटीको पहिलो बैठकले १४ जना जिल्ला सदस्य मनोनित गरेर १४९ सदस्यीय जिल्ला कमिटी बनाउने छ । एमाले जिल्ला अधिवेशनका लागि जिल्लाभरबाट ४५५ जना जिल्ला अधिवेशन प्रतिनिधि छानिएका छन् । जिल्ला अधिवेशनलाई सम्पन्न गर्न विभिन्न समिति तथा उपसमितिहरु गठन गरिएका छन् ।