लालबन्दी – नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको मधेश प्रदेश कमिटिको प्रथम अधिवेशन बिहीबार लालबन्दीमा सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिका-६ स्थित मदन आश्रीत भवनमा भएको प्रथम अधिवेशनले संगठनको ७४ सदस्यीय मधेश प्रदेश कमिटि गठन गरेको छ । संगठनका मधेश प्रदेश कमिटिका संयोजक प्रभुनारायण शिवाकोटी (श्याम) को अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सचिव पूर्वउपप्रधान तथा यातायात मन्त्री रघुविर महासेठको प्रमुख तथा नेकपा एमालेका पोलिब्यूरो सदस्य तथा पूर्वउद्याेग मन्त्री आनन्द पोखरेलको विशिष्ट आतिथ्यता रहेको थियो ।
अधिवेशनमा मधेश प्रदेशका ८ वटै जिल्लाबाट प्रतिनिधि तथा पार्टीका नेता कार्यकर्ता शुभेच्छुक लगायतको उपस्थिती रहेको थियो । बिहीबार भएको अधिवेशनबाट मधेश प्रदेश कमिटिको अध्यक्षमा धनुषाका पूर्ण बहादुर केसी, उपाध्यक्षमा सर्लाहीका मदन शाही, सचिवमा बाराका टिका दास मुल्मी लगायत अन्य पदाधिकारी रहने गरी ७१ सदस्यीय कमिटि गठन गरेको पनि जानकारी गराईएको छ ।